तिहार अर्थात् दीपावलीको समापनसँगै मधेस प्रदेशमा हर्षोल्लासका साथ मनाइने परम्परागत ‘गोधन कुट्ने’ पर्व पर्सामा आज बुधबार बिहान धुमधामका साथ मनाइएको छ।
वीरगन्जसहित जिल्लाका विभिन्न गाउँ तथा बस्तीहरूमा महिलाहरू एकै ठाउँमा सामूहिक रूपमा भेला भएर धार्मिक तथा सांस्कृतिक विधिपूर्वक यो पर्व मनाएका हुन्। विशेषगरी महिलाहरूको सक्रिय सहभागिता रहने यस पर्वमा गाईको गोबरबाट बनाइएको गोलाकार प्रतिमालाई विधिपूर्वक कुट्ने परम्परा रहेको छ।
पर्वका अवसरमा महिलाहरूले सामूहिक रूपमा गोधन कुट्नुका साथै आफ्ना परिवार तथा सन्तानको सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गरेका छन्। यस पर्वमा गाईको गोबरभित्र राखिएको बज्र अर्थात् खेराउ निकालेर घर लैजाने र परिवारका सदस्यहरूलाई खुवाउने धार्मिक तथा सांस्कृतिक चलनसमेत रहेको छ। यसरी खेराउ खुवाउँदा परिवारका सदस्य तथा सन्तानको आयु लामो हुने र घरमा सुख–समृद्धि प्राप्त हुने जनविश्वास रहिआएको छ। गोधन कुट्ने क्रममा महिलाहरूले विभिन्न परम्परागत लोकगीतसमेत गाएर वातावरणलाई थप ऊर्जाशील बनाएका थिए।
स्थानीय परम्पराअनुसार गोधन पर्वका लागि घर–घरमा गाईको गोबरबाट प्रतिमा निर्माण गरी निर्धारित दिनमा पूजा गर्ने र गोधन कुट्ने गरिन्छ। यस वर्ष पर्व मनाउने समय एक दिन पछाडि सार्दै आज बुधबार बिहान गोधन कुट्ने पर्व मनाइएको साईबाबा मन्दिरका पुजारी जितेन्द्र परासरले बताएका छन्।
वीरगन्जसहित पर्साका ग्रामीण भेगहरूमा पनि महिलाहरूको उल्लेख्य सहभागितामा यो पर्व सम्पन्न भएको छ। मधेस प्रदेशका विभिन्न जिल्लाका साथै छिमेकी देश भारतको बिहार राज्यका गाउँहरूमा समेत यो पर्व परापूर्वकालदेखि नै परम्परागत रूपमा मनाउने गरिएको छ।
गोधन कुट्ने पर्वले धार्मिक आस्थालाई प्रगाढ बनाउनुका साथै पारिवारिक सुख–समृद्धिको कामना गर्ने र पुस्तौँदेखि चल्दै आएको मौलिक संस्कृति तथा सामाजिक एकतालाई निरन्तरता दिँदै आएको छ। पछिल्लो पुस्तामा समेत यस्ता मौलिक परम्पराहरूको संरक्षण र संवद्र्धनप्रति महिलाहरूको आकर्षण बढ्दै गएको यस पर्वको सामूहिक सहभागिताले पुष्टि गरेको छ।











