वीरगन्ज-
मनसुन सक्रिय भएसँगै मधेश प्रदेश र अन्य प्रदेशका तराई भूभागमा वर्षाको गतिविधि उल्लेख्य रूपमा बढ्ने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भूभागमा मनसुनी वायु सक्रिय रहेको छ भने लुम्बिनी प्रदेशको पूर्वी तराई क्षेत्रमा पनि यसको प्रभाव देखिएको छ।
मधेश प्रदेशका अधिकांश जिल्लामा बिहानदेखि नै बदली रहेको छ। कोशी प्रदेशको तराई, बारा–पर्सा क्षेत्रसहित मधेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै कोशी प्रदेशको तराई र मधेश प्रदेशका विभिन्न जिल्लामा हावाहुरी चल्न सक्ने चेतावनी पनि दिइएको छ।
दिउँसोको अवस्था : तराईमा वर्षा बढ्ने
आज दिउँसो देशभर साधारणतया बदली रहने भए पनि प्रभाव सबैभन्दा बढी तराई क्षेत्रमा पर्ने देखिएको छ। मधेश प्रदेशका धेरै स्थानमा तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
विशेषगरी पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लामा स्थानीय रूपमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना उच्च रहेको छ।
रातिको अवस्था : मधेश र तराईमा सतर्कता आवश्यक
आज राति मधेश प्रदेशका धेरै स्थानमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा व्यापक वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
कोशी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ भने मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। यसका साथै मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।












