वीरगन्ज-
मधेस प्रदेशमा अत्यधिक गर्मी र बढ्दो तापक्रमसँगै सर्पदंशका घटनामा उल्लेख्य वृद्धि हुन थालेको छ। विशेषगरी तराईका जिल्लामा गर्मीका कारण विषालु सर्प बासस्थानबाट बाहिर निस्कन थालेपछि सर्पले डस्ने घटनाहरू बढेका हुन्। सर्लाहीस्थित सर्पदंश उपचार केन्द्रको पछिल्लो तथ्यांकले यो अवस्था झन् स्पष्ट पारेको छ।
सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित सर्पदंश उपचार केन्द्रका अनुसार चालु सिजनको असार तेस्रो सातासम्म ३०५ जना सर्पदंशका बिरामी उपचारका लागि केन्द्रमा पुगेका छन्। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय रूपमा बढी रहेको केन्द्रले जनाएको छ।
उपचार केन्द्रका स्वास्थ्य सहायक जगन्नाथ यादवका अनुसार फागुनदेखि असोजसम्म सर्पदंशका घटना बढी हुने गरे पनि यस वर्षको अत्यधिक गर्मीका कारण बिरामीको संख्या अस्वाभाविक रूपमा बढेको देखिएको छ। केन्द्रका अध्यक्ष उद्धव पौडेलका अनुसार हाल दैनिक तीनदेखि सात जनासम्म सर्पले डसेका बिरामी उपचारका लागि आउने गरेका छन्।
केन्द्रको तथ्यांकअनुसार यस वर्ष फागुनमा १७, चैतमा ४७, वैशाखमा ६५, जेठमा ८५ र असारको तेस्रो सातासम्म ९१ जना सर्पदंशका बिरामी उपचारका लागि पुगेका छन्। तीमध्ये कमन करेत नामक विषालु सर्पले डसेका तीन जनालाई थप उपचारका लागि जनकपुर रिफर गरिएको छ भने अन्य सबै बिरामीको उपचार केन्द्रमै गरिएको स्वास्थ्य सहायक यादवले जानकारी दिए।
चिकित्सकहरूका अनुसार मुसाको दुलो, झाडी तथा चिस्यानयुक्त स्थानमा बस्ने विषालु सर्प गर्मी बढेसँगै बाहिर निस्कने र विशेषगरी रातको समयमा आहाराको खोजीमा हिँड्दा मानिससँग जम्काभेट हुने सम्भावना बढ्छ। सर्पले मानिसलाई खोजेर आक्रमण नगर्ने, तर आफू असुरक्षित महसुस गर्दा बचाउका लागि डस्ने उनीहरूको भनाइ छ।
उपचार केन्द्रका अनुसार उपचारका लागि आउनेमध्ये करिब पाँचदेखि सात प्रतिशत बिरामीमा मात्रै विष फैलिएको पाइन्छ। १५ देखि २० प्रतिशतमा ‘सुक्खा डसाइ’ (Dry Bite) हुने तथा ७३ देखि ८० प्रतिशत बिरामीलाई विष नभएका सर्पले डसेको वा सर्पदंश भएको शङ्का मात्र हुने गरेको तथ्यांकले देखाएको छ।
एकैपटक दुई जना गम्भीर बिरामीलाई आपत्कालीन सेवा दिन सक्ने क्षमता रहेको उक्त केन्द्रमा दुई जना एमबीबीएस चिकित्सक, दुई जना सीएमए, तीन जना एचए तथा नेपाली सेनाका दुई जना स्वास्थ्य प्राविधिक कार्यरत छन्।
स्वास्थ्यकर्मीहरूले सर्पले डसेपछि झारफुक वा धामी–झाँक्रीको भर पर्नुभन्दा तत्काल नजिकको सर्पदंश उपचार केन्द्र वा अस्पताल पुग्न आग्रह गरेका छन्। उपचारमा ढिलाइ हुँदा ज्यानसमेत जोखिममा पर्ने भएकाले समयमै चिकित्सकीय उपचार नै सबैभन्दा प्रभावकारी उपाय रहेको उनीहरूको भनाइ छ।











