२०८३ असार २४ गते, बुधबार १५:०९

जनअसन्तोष चुलिँदा कर्मचारीमाथि आक्रमण, कालिकामाई गाउँपालिकामा पेनडाउन

वीरगञ्ज-

स्थानीय तहमा बढ्दो भ्रष्टाचार, योजनाको अपारदर्शिता र त्यसबाट उत्पन्न जनअसन्तोषले प्रशासनिक वातावरण झन् जटिल बन्दै गएको छ। सेवाप्रवाह प्रभावकारी हुन नसक्दा नागरिकको असन्तुष्टि बढिरहेको बेला त्यसको प्रत्यक्ष असर सरकारी कर्मचारीको सुरक्षामै पर्न थालेको देखिएको छ। पर्साको कालिकामाई गाउँपालिकामा कार्यालयभित्रै एक कर्मचारीमाथि कुटपिट भएपछि कर्मचारीहरूले पेनडाउन आन्दोलन सुरु गरेका छन्।

मंगलबार गाउँपालिकाका कम्प्युटर अपरेटर चन्दन कुमार चौरसियामाथि कार्यालय परिसरभित्रै कुटपिट तथा दुर्व्यवहार भएको घटनापछि सम्पूर्ण कर्मचारी आन्दोलित बनेका हुन्। उनीहरूले दोषीमाथि तत्काल कानुनी कारबाही, कार्यालयमा सुरक्षित कार्य वातावरण र कर्मचारीको सुरक्षाको ग्यारेन्टीको माग गर्दै सम्पूर्ण प्रशासनिक कामकाज ठप्प पारेका छन्।

कर्मचारीहरूले प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा कार्यालय समयमै आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका कर्मचारीमाथि योजनाबद्ध रूपमा आक्रमण भएको उल्लेख गर्दै यसलाई केवल एक व्यक्तिमाथिको आक्रमण नभई सम्पूर्ण निजामती तथा स्थानीय सेवा प्रणालीमाथिको चुनौतीका रूपमा व्याख्या गरेका छन्।

उनीहरूका अनुसार स्थानीय तहमा हुने अनियमितता, योजना कार्यान्वयन र आर्थिक कारोबारसँग जोडिएका विवादको दोष प्रत्यक्ष रूपमा निर्णय गर्ने तहमा नभएका कर्मचारीमाथि थोपर्ने प्रवृत्ति बढ्दै गएको छ। यस्तो अवस्थाले कर्मचारीहरू त्रासमा काम गर्न बाध्य भएको र यसले सुशासन तथा सेवा प्रवाह दुवै प्रभावित हुने चेतावनी उनीहरूले दिएका छन्।

कर्मचारीहरूले जारी गरेको संयुक्त विज्ञप्तिअनुसार विवादको पृष्ठभूमि स्वास्थ्य शाखाबाट सञ्चालन हुने बहुक्षेत्रीय पोषण कार्यक्रमसँग सम्बन्धित रहेको जनाइएको छ। तर उक्त विषयमा कम्प्युटर अपरेटर चौरसियाको कुनै निर्णयात्मक भूमिका वा व्यक्तिगत संलग्नता नरहे पनि उनीमाथि हातपात हुनु गम्भीर र निन्दनीय घटना भएको उल्लेख गरिएको छ।

घटनामा संलग्न रहेको आरोप लगाउँदै कालिकामाई गाउँपालिका-२ का राजनिश कुशवाहा, वडा नं. ३ का वडाध्यक्ष सञ्जय कुमार पटेलसहित अन्य व्यक्तिमाथि संघीय कानुनअनुसार कडा कारबाही गर्न कर्मचारीहरूले माग गरेका छन्। सरकारी कार्यालयभित्रै कर्मचारी असुरक्षित हुने अवस्था सिर्जना हुनु स्थानीय शासन व्यवस्थाकै कमजोरीको संकेत भएको उनीहरूको भनाइ छ।

माग पूरा नभएसम्म गाउँपालिकाका सम्पूर्ण कर्मचारीले कार्यालयमा काम नगरी जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने तथा पेनडाउन आन्दोलनलाई निरन्तरता दिने घोषणा गरेका छन्। आन्दोलनका कारण बुधबार गाउँपालिकाको सम्पूर्ण प्रशासनिक सेवा ठप्प भएको छ भने गाउँपालिका अन्तर्गत सञ्चालित विद्यालयहरूको पठन पाठनसमेत प्रभावित भएको छ।

यता, इलाका प्रहरी कार्यालय पोखरियाले घटनामा संलग्न रहेको आरोपमा कालिकामाई गाउँपालिका–२ निवासी रामबालक साह कानु र अरविन्द चौरसियालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायक उपरीक्षक राजु कार्कीले जानकारी दिनुभयो। घटनामा संलग्न अन्य व्यक्तिको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनु भयो ।

स्थानीय तहमा भ्रष्टाचार र अनियमितता प्रति नागरिकको असन्तोष बढ्दै जाँदा त्यसको असर सेवा प्रवाह गर्ने कर्मचारीमाथि हिंसात्मक रूपमा देखिन थालेको भन्दै प्रशासनिक वृत्तले चिन्ता व्यक्त गरेको छ। सरोकारवालाहरूले भ्रष्टाचार नियन्त्रण, पारदर्शी प्रशासन र कर्मचारीको सुरक्षा सुनिश्चित नगरे यस्ता घटना थप बढ्न सक्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस