२०८३ असार २७ गते, शनिबार १४:०७

हेलिकप्टरबाट पुष्पवर्षासहित वीरगन्जमा चौथो विशाल गहवा माई रथ यात्रा हुने, तयारी पूरा

वीरगन्ज

मधेश प्रदेशकै प्रमुख धार्मिक आस्थाको केन्द्र मानिएको श्री गहवा माई मन्दिरमा आयोजना हुने ‘चौथो विशाल रथ यात्रा तथा पावन धार्मिक महोत्सव–२०८३’ को सम्पूर्ण तयारी पूरा भएको छ। आयोजक श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिले शुक्रबार वीरगन्जमा पत्रकार सम्मेलन गरी आगामी असार ३२ गते र श्रावण १ गते सञ्चालन हुने दुईदिने धार्मिक महोत्सवको विस्तृत कार्यक्रम सार्वजनिक गरेको हो।

समितिका अनुसार असार ३२ गते बिहान ७:३० बजे श्री गहवा माई मन्दिर प्राङ्गणबाट विधिपूर्वक पूजा–अर्चनासहित विशाल रथ यात्राको शुभारम्भ गरिनेछ। यस वर्षको रथ यात्रालाई थप भव्य र विशेष बनाउन यात्रा मार्गभरि हेलिकप्टरबाट पुष्पवर्षा गर्ने नौलो व्यवस्था मिलाइएको आयोजकले जनाएको छ। सोही दिन साँझ मन्दिर परिसरमा देश तथा विदेशका चर्चित भजन कलाकारहरूको सहभागितामा भव्य ‘भजन सन्ध्या’ आयोजना गरिनेछ।

महोत्सवको दोस्रो दिन अर्थात् श्रावण १ गते बिहान ६ बजेदेखि माईको ५६ भोग पूजा र दिउँसो ४ बजेदेखि विशाल महाप्रसाद भण्डारा (लङ्गर) को कार्यक्रम सञ्चालन गरिने कार्यतालिका सार्वजनिक गरिएको छ।

सडक विस्तारको कार्य रोक्न पत्राचार, सुरक्षामा विशेष ध्यान पत्रकार सम्मेलनमा समितिले रथ यात्राका क्रममा लाखौँ श्रद्धालु भक्तजनहरूको सहज आवागमन, सुरक्षा र व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखिएको जनाएको छ। हाल वीरगन्जको मेनरोड क्षेत्रमा भइरहेको सडक विस्तार तथा तोडफोडको कामले यात्रामा अवरोध पुर्‍याउन सक्ने भएकाले रथ यात्रा अवधिभर उक्त कार्य स्थगित गर्न सम्बन्धित सडक डिभिजन कार्यालयलाई औपचारिक पत्राचार गरिसकिएको समितिले जानकारी दिएको छ।

सहभागिता र सहयोगका लागि अपील

गहवा माई तीर्थ क्षेत्र विकास समितिले वीरगन्जका सम्पूर्ण सामाजिक, धार्मिक, जातीय तथा व्यावसायिक सङ्घ–संस्था, बुद्धिजीवी र नागरिक समाजलाई रथ यात्रामा स्वतःस्फूर्त र सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ। साथै, रथ यात्राको निर्धारित मार्गमा पर्ने घर तथा व्यावसायिक प्रतिष्ठानहरूलाई आफ्नो ढोकामा कलश स्थापना गर्न, तोरणले सजाउन, दीप प्रज्वलन गर्न र टाढा-टाढाबाट आउने श्रद्धालुहरूका लागि खानेपानी, सर्वत जस्ता सेवामूलक स्टलहरू राखेर धार्मिक महोत्सवलाई सफल बनाउन आह्वान गरिएको छ।

पत्रकार सम्मेलनमा रथ यात्रा–२०८३ की महिला संयोजक विभा साह, मूल संयोजक बसन्त कुमार गुप्ता, प्रचार–प्रसार उपसमितिका संयोजक श्याम प्रसाद गुप्ता, श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिका अध्यक्ष श्याम पोखरेल, सचिव लक्ष्मीनारायण गुप्ता (पप्पु गुप्ता) लगायत समितिका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

गहवा माईको यो रथ यात्रा केवल धार्मिक अनुष्ठान मात्र नभई वीरगन्जको सांस्कृतिक पहिचान, सामाजिक सद्भाव र सामुदायिक एकताको अनुपम प्रतीक बनिसकेकाले यसलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सम्पूर्ण नगरबासीको साथ आवश्यक रहेको आयोजकले उल्लेख गरेको छ।

प्रतिक्रिया

पशुपती आदर्शनगरको जग्गा विवाद: २१ घरजग्गाधनीद्वारा मालपोत प्रमुख र व्यवसायी केडियामाथि गम्भीर आरोप, सांसद पन्तलाई ज्ञापनपत्र

वीरगन्ज– वीरगन्ज महानगरपालिका क्षेत्रभित्र रहेको पशुपती आदर्शनगरको जग्गा स्वामित्वलाई लिएर

पशुपती आदर्शनगरको जग्गा विवाद: २१ घरजग्गाधनीद्वारा मालपोत प्रमुख र व्यवसायी केडियामाथि गम्भीर आरोप, सांसद पन्तलाई ज्ञापनपत्र

वीरगन्ज– वीरगन्ज महानगरपालिका क्षेत्रभित्र रहेको पशुपती आदर्शनगरको जग्गा स्वामित्वलाई लिएर

पोडकास्ट सुन्नुहोस