२०८३ असार २८ गते, आईतवार १०:४७

इंग्ल्यान्ड सेमिफाइनलमा, नर्वेको विश्वकप यात्रा टुंगियो

काठमाडौं –

नर्वेलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

नर्वेलाई २-१ ले पराजित गर्दै इंग्ल्यान्डले सेमिफाइनल भिडन्त सुनिश्चित गरेको हो । इंग्ल्यान्डको जितमा दुवै गोल जुड बेलिंघमले गरे ।

खेलको पहिलो हाफको ३६ औँ मिनेटमा नर्वेका एन्ड्रियस इस्लेअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाए । पहिलो हाफको अन्त्यतिर इंग्ल्यान्डका जुड बेलिंघमले गोल गर्दै खेललाई बराबरीको स्थितिमा ल्याए ।

दोस्रो हाफको ५४ औँ मिनेटमा टोबजन हेगमले बललाई जाली चुमाएका थिए । बल डिबक्स एरियामा पुग्नुअघि एर्लिङ हालाण्डले इंग्ल्यान्डका डिफेन्डरलाई लडाउन पुगे । भीएआर परीक्षणपछि त्यसलाई फाउल मान्दै गोललाई मान्यता दिइएन।

दोस्रो हाफमा सात मिनेट इन्जुरी समय दिइएको थियो । उक्त समयमा कुनै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा धकेलियो ।

अतिरिक्त समयको ९३ औँ मिनेटमा बेलिंघमले इंग्ल्यान्डका लागि दोस्रो गोल गरे । सेमिफाइनलमा इंग्ल्यान्डले अर्जेन्टिना र स्विट्जरल्याण्डको खेलबाट तय हुने विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस