२०८३ असार २८ गते, आईतवार ११:५७

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं –

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ परेका छन् ।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका—२ बस्ने सिन्धुली घर भएका ३६ वर्षीय कुनसाङ लामा, काठमाडौं तारकेश्वर नगरपालिका—८ बस्ने बर्दिया घर भएका ४२ वर्षीय धन बहादुर शाही, काठमाडौं टोखा नगरपालिका(५ बस्ने ताप्लेजुङ घर भएका ४८ वर्षीय उमेश लिम्बु, काठमाडौं महानगरपालिका(३ बस्ने तनहुँ घर भएकी २१ वर्षीया सचिता परियार र काठमाडौं बुढानिलकण्ठ नगरपालिका—१० बस्ने खोटाङ घर भएका ४१ वर्षीय निरोज राई रहेका छन् । 

पक्राउ मध्ये कुनसाङले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ७ हजार रूपैयाँ, धन बहादुरले जर्जिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ९५ हजार रूपैयाँ ठगी गरेका छन् ।

यसैगरी, उमेशले बेलारूस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ, सचिताले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ र निरोजले टर्की पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ७ लाख ९० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कुनसाङलाई बुढानिलकण्ठ नगरपालिका—२ बाट र धन बहादुरलाई तारकेश्वर नगरपालिका—८ बाट बिहीबार तथा उमेशलाई टोखा नगरपालिका—५ बाट, सचितालाई काठमाडौं महानगरपालिका—३ बाट र निरोजलाई काठमाडौं महानगरपालिका—४ बाट शुक्रबार पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस