वीरगन्ज –
वीरगन्ज महानगरपालिकाभित्र स्वास्थ्य सेवा प्रवाह र कार्यसम्पादनमा उत्कृष्ट ठहरिएका लिपनी बिर्ता स्वास्थ्य चौकी, पर्सैनी बिर्ता स्वास्थ्य चौकी, मनियारी स्वास्थ्य चौकी, नगर स्वास्थ्य केन्द्र छपकैया–१० तथा आधारभूत स्वास्थ्य केन्द्र–२ सम्मानित भएका छन्।
वीरगन्ज महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाअन्तर्गत जनस्वास्थ्य प्रवर्द्धन शाखाले आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा कार्यसम्पादन र प्राप्त उपलब्धिका आधारमा ती स्वास्थ्य संस्थालाई सम्मान गरिएको हो।
महानगरको सभाहलमा शुक्रबार सम्पन्न गोष्ठीमा महानगरका ३४ स्वास्थ्य चौकी प्रमुख तथा साझेदार संस्थाका प्रतिनिधिसहित ४४ जनाको सहभागिता रहेको थियो। भदौ २३–२४ र २५–२६ गते गरी दुई ब्याचमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म गोष्ठी सञ्चालन गरिएको थियो।
महानगरका स्वास्थ्य संस्थाको कार्यसम्पादनको समीक्षा गर्दै उत्कृष्ट संस्थालाई प्रोत्साहन गरिएको जनाइएको छ। विगत करिब १० वर्षपछि महानगरका कार्यवाहक मेयरसहित सम्बन्धित सरोकारवालाको प्रत्यक्ष सहभागितामा वार्षिक समीक्षा गोष्ठी आयोजना गरिएको हो।
तर, उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित भइरहँदा महानगरको समग्र स्वास्थ्य कार्यक्रमको प्रगतिमा भने विगत तीन वर्षको तुलनामा केही आंशिक कमी देखिएको छ। केन्द्रबाट प्राप्त विवरण र स्वास्थ्य संस्थाको स्थलगत वास्तविक कामबीच मेल नहुँदा प्रगति विवरणमा कमी देखिएको महाशाखाले जनाएको छ।
गोष्ठीका अध्यक्ष एवं महानगरका कार्यवाहक मेयर इम्तियाज आलमले स्वास्थ्य सेवा नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएकाले यसको प्रभावकारिता बढाउन महानगर प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले केन्द्रमा पठाइने विवरण र स्थलगत अवस्थाबीच देखिएको अन्तर हटाउँदै स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न स्वास्थ्यकर्मीलाई जिम्मेवार भएर काम गर्न निर्देशन दिनुभयो।
महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त बोहराले पारदर्शी मूल्यांकनका आधारमा उत्कृष्ट स्वास्थ्य संस्थालाई सम्मान गरिएको बताउनुभयो। काम गर्ने क्रममा देखिएका प्राविधिक तथा व्यावहारिक त्रुटि सुधार्दै केन्द्रको तथ्यांक र फिल्डको वास्तविक अवस्थाबीचको दूरी कम गर्न आगामी दिनमा स्थलगत अनुगमनलाई थप प्रभावकारी बनाइने उहाँले बताउनुभयो।












