२०८३ कार्तिक ११ गते, मंगलवार ११:२०

घुमुवा हुँ भन्दै रकम असुली गर्ने वर्णवाल प्रहरीको खोरमा

वीरगन्ज –

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको घुमुवा भएको भन्दै रकम असुली गरेको आरोपमा पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका–५ निवासी ५१ वर्षीय अशोककुमार वर्णवाल रहेका छन्। आफू नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको घुमुवा भएको तथा सुरक्षाकर्मीसँग राम्रो चिनजान रहेको भन्दै भन्सार छलीका सामान सीमापार गराइदिने प्रलोभन देखाएर उनले विभिन्न व्यक्तिबाट रकम असुली गरेको आरोप छ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार सीमाक्षेत्रमा हुने अवैध ओसारपसार तथा राजस्व चुहावटसँग सम्बन्धित सामान सजिलै पार गराइदिने भन्दै रकम असुली गरेको सूचना प्राप्त भएपछि वर्णवाललाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार आफू सुरक्षाकर्मीसँग निकट रहेको दाबी गर्दै भन्सार छली तथा चोरी–तस्करीका सामान सहजै पास गराइदिने आश्वासन दिएर रकम लिएको आरोपमा उनलाई आफ्नै निवासबाट नियन्त्रणमा लिइएको हो।

वर्णवाललाई गत कात्तिक ६ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीमाथि कानुनबमोजिम म्याद थप गरी अनुसन्धान भइरहेको छ।

यसैगरी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको सेवामा जागिर लगाइदिने भन्दै वर्णवालले विभिन्न व्यक्तिबाट रकम लिएको गुनासोसमेत प्राप्त भएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिनुभयो। उक्त विषयमा समेत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस