वीरगन्ज –
मोटरसाइकलको डिक्कीमा लुकाएर ल्याउँदै गरेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पर्सा प्रहरीले वीरगन्जमा पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा भारतबाट वीरगन्जतर्फ आउँदै गरेको बी आर ०६ ए. टी ६४४५ नम्बरको मोटरसाइकल प्रहरीले रोकेको थियो। मोटरसाइकलको डिक्की खानतलासी गर्दा भारत बिहारको मोतिहारी पलानवा थाना–१० का करिब ५५ वर्षीय अशोक कुमारले लुकाइछिपाइ राखेको भारतीय रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद रकममा ५०० दरका ८९१ थान, २०० दरका १ थान र १०० दरका ४३ थान नोट रहेका छन्। यसरी जम्मा ४ लाख ५० हजार भारतीय रुपैयाँ बरामद भएको हो।
रकमसहित मोटरसाइकल र अशोक कुमारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरी नायव उपरीक्षक तथा कार्यालयका प्रवक्ता चक्रबहादुर मल्लले घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।











