महोत्तरी—
महोत्तरीको औरही नगरपालिकाका नगरप्रमुख प्रदीपकुमार खडकामाथि भएको आक्रमण तथा कार्यालय तोडफोडको घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल कानुनी दायरामा ल्याउन नेपाल नगरपालिका संघ, मधेश प्रदेश समितिले जोडदार माग गरेको छ।
नेपाल नगरपालिका संघ मधेश प्रदेश समितका संयोजक मनोजकुमार साहको नेतृत्वमा गएको मेयरहरूको टोलीले मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो। गत भदौ ३१ गते केही उच्छृंखल व्यक्तिहरूले नगरप्रमुख खडका लगायत जनप्रतिनिधि तथा कर्मचारीमाथि चक्कु प्रहारसहित हातपात र कार्यालय परिसरमा तोडफोड गरेका थिए।
ज्ञापनपत्रमा उठाइएका मुख्य मागहरू:
- दोषीलाई कडा कारबाही: स्थानीय सरकार प्रमुखमाथि भएको यस किसिमको आपराधिक घटनाले जनप्रतिनिधि तथा कर्मचारीहरूलाई त्रसित बनाएको र भयमुक्त वातावरणमा सेवा प्रवाह गर्न कठिनाइ उत्पन्न भएको जनाउँदै घटनामा संलग्नलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न माग गरिएको छ।
- झूटा मुद्दा खारेज: दोषीमाथि कारबाही गर्नुको साटो उल्टै नगरप्रमुखको प्रतिरक्षामा उत्रिएका कर्मचारी तथा नगरवासीमाथि राजनीतिक दबाबका आधारमा झूटा मुद्दा दर्ता गराउने प्रयास भएको भन्दै त्यसलाई तत्काल छानबिन गरी फिर्ता गर्न माग गरिएको छ।
- सुरक्षाको सुनिश्चितता: महोत्तरी जिल्लास्तरीय नगरप्रमुखहरूको बैठकको निर्णयअनुसार आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुरक्षा तथा कानुनी व्यवस्था सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।
घटनापश्चात् औरही नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवाहरू अनिश्चितकालका लागि ठप्प पारिएका छन्।












