२०८३ कार्तिक १३ गते, बिहीबार २०:३२

वीरगन्जको शिरडी साई बाबा मन्दिरको ९औँ वार्षिकोत्सव: शनिबार शोभा यात्रा र महाप्रसाद वितरण हुने

वीरगन्ज —

वीरगन्जस्थित शिरडी साई बाबा मन्दिर सेवा ट्रष्टले आफ्नो ९औँ वार्षिकोत्सव तथा पालकी शोभा यात्राको पूर्वसन्ध्यामा मन्दिर प्राङ्गणमा पत्रकार सम्मेलन सम्पन्न गरेको छ। ट्रष्टका अध्यक्ष प्रवेश कुमार सराफको अध्यक्षतामा उक्त पत्रकार सम्मेलन आयोजना गरिएको हो।

२०७४ सालमा स्थापना भएको यस मन्दिरले आफ्नो स्थापनाकालदेखि नै सनातन धर्म परम्परा अनुसार सम्पूर्ण पूजापाठ, चाडपर्व तथा धार्मिक गतिविधिहरू हर्षोल्लासका साथ मनाउँदै आएको छ। ट्रष्टका अध्यक्ष सराफले आफ्नो कार्यकाल सुरु भएदेखि नै ट्रष्टका उपाध्यक्ष सञ्जय कुशवाहालाई पालकी शोभा यात्राको संयोजकको जिम्मेवारी सुम्पिएको जानकारी दिए।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आगामी शनिबार बिहान ठीक ८:३० बजेदेखि पालकी शोभा यात्रा सुरु हुनेछ। मन्दिरका मुख्य पुजारी जितेन्द्र परासरद्वारा विशेष विधिपूर्वक संकल्प पूजा सम्पन्न गरेपछि शोभा यात्रा निकालिनेछ।

यात्राका क्रममा शिरडी साई बाबालाई विशेष सिङ्गार गरी बजार परिक्रमा गराइनेछ। उक्त पालकी शोभा यात्रा मन्दिर प्राङ्गणबाट सुरु भई माइस्थान मन्दिर, अलखियामठ लगायत नगरका प्रमुख धार्मिक तथा सार्वजनिक स्थलहरूको परिक्रमा गर्दै पुनः मन्दिरमा पुगेर समापन हुनेछ। यात्रामा करिब १ हजार भक्तजनहरूको सहभागिता रहने अनुमान गरिएको छ।

खर्च र भक्तजनलाई अपिल

नगरपरिक्रमापश्चात् मन्दिर प्राङ्गणमा फर्केर भव्य महाप्रसादको व्यवस्थापन गरिएको छ। ट्रष्टका अध्यक्ष प्रवेश सराफले सम्पूर्ण वीरगन्जवासी भक्तजनहरूलाई शोभा यात्रामा उत्साहपूर्वक सहभागी भई साई बाबाको दर्शन र महाप्रसाद ग्रहण गर्न हार्दिक अपिल गरेका छन्।

यस वर्षको ९औँ वार्षिकोत्सव तथा शोभा यात्रा सम्पन्न गर्न करिब रु. ३ लाखदेखि ४ लाखसम्म खर्च हुने आयोजक ट्रष्टले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस