२०८२ असार १७ गते, मंगलवार १६:१५

वीरगन्ज—

सशस्त्र प्रहरी बलले वीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित भन्सार मेनगेटबाट भारी मात्रामा सुन र हिराका गहनाहरु बरामद गरेको छ। यसरी बरामद गरिएका गहनाहरुको मूल्य लगभग ५८ लाख ६६ हजार ९२७ रुपैँया रहेको सशस्त्र प्रहरी पर्साका डिएसपी नरेन्द्र सिंह धामीले जनाएका छन्।

सशस्त्र प्रहरी बलले प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको एक सवारी साधन रोकेर जाँच गरेको थियो। जाँचको क्रममा सवारी साधनबाट ३६ लाख १५ हजार ८७ रुपैँया मूल्यका हिरा र २२ लाख ५१ हजार ८४० रुपैँया मूल्यका सुनका गहनाहरु बरामद गरिएको छ।

बरामद गरिएका गहनाहरुमा १० पिस बाला, १ पिस ब्रासलेट, ९ पिस फेन्सी ब्रासलेट, ४ पिस औँठी, ४ पिस मंगलसुत्र, ११ पिस विभिन्न किसिमका गहना, ४ पिस लकेट, १३ पिस झुम्का र ६ जोर टप समावेश छन्। यी गहनाहरु अवैध रूपमा नेपाल भित्र्याइएको प्रहरीले अनुमान गरेको छ।

सशस्त्र प्रहरी पर्साले बरामद गरिएका सुन र हिराका गहनाहरु आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयको जिम्मामा लगाएको छ। यस सम्बन्धमा विस्तृत अनुसन्धान अघि बढाइएको छ भने सम्बन्धित व्यक्तिहरु विरुद्ध कानुनी कारबाही गरिने प्रहरीले बताएको छ।

यस घटनाले सीमा क्षेत्रमा अवैध व्यापार र तस्करीको गतिविधिहरु नियन्त्रण गर्न आवश्यक कडा कदम चाल्ने आवश्यकता देखाएको छ। सशस्त्र प्रहरीले यस्ता गतिविधिहरु रोक्न निरन्तर सक्रिय रहेको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यहरु जारी राख्ने बताएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस