वीरगन्ज –
ठाकुरराम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना स्थगित भएपछि विवाद चर्किएको छ । स्थगित मतगणना सुरु गर्न माग गर्दै आज क्याम्पस क्षेत्रमा राज यादव समूहले प्रदर्शन गरेको छ । प्रदर्शनमा नेविसंघका केन्द्रीय सदस्य बिकेश पटेलले स्थगित मतगणना तत्काल सुचारु गर्न माग गरेका छन् ।
यसैबीच, बिहीबार विभिन्न विद्यार्थी संगठनहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनमा विभिन्न त्रुटिहरू भएको आरोप लगाएका छन् । उनीहरूले मतदान समयमा ढिलाइ, फर्जी मत खसेको, मतपेटिकाको शिल तोडिएको, मतदाता नामावलीमा नाम छुटेको र मतगणनामा अनियमितता भएको जस्ता गम्भीर आरोप लगाएका छन् ।

विद्यार्थी संगठनहरूले निर्वाचन अधिकृतको भूमिकामा पनि प्रश्न उठाएका छन् । निर्वाचनको दिन मोबाइल अफ राखेको, पत्रकारलाई मतगणना स्थलमा प्रवेश गर्न नदिएको र मतगणना २४ घण्टापछि मात्र सुरु गरेको जस्ता आरोप उनीहरूले लगाएका छन् ।
विवाद बढ्दै गएपछि विद्यार्थी संगठनहरूले निर्वाचन रद्द गरी १५ दिनभित्र पुनः निर्वाचन गर्नुपर्ने माग गरेका छन् । उनीहरूले फर्जी मतको छानबिन गरी दोषीलाई कारबाही गर्न र क्याम्पस प्रमुख, निर्वाचन अधिकृत र कर्मचारीलाई पनि कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्।
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, विद्यार्थी संगठन, समाजवादी विद्यार्थी युनियन, नेपाल विद्यार्थी कल्याण युनियन, स्वतन्त्र युवा समूह (८ दलीय गठबन्धन) र नेपाल विद्यार्थी संघका प्रतिनिधिहरूले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । यस विवादले क्याम्पसको वातावरण थप तनावग्रस्त बनेको छ ।