काठमाडौं –
रौतहटस्थित नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद आफताब आलमको स्वास्थ्यमा सुधार आएको छ। उनको काठमाडौँको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ।
अस्पताल प्रशासनका अनुसार आलमको स्वास्थ्य अवस्था हाल सुधारोन्मुख रहेको छ। शनिबार बिहान अस्पतालले दिएको पछिल्लो जानकारीअनुसार आलमलाई सघन कक्ष (ICU) मा स्नायु विशेषज्ञ टोलीको निगरानीमा थप उपचार आवश्यक रहेको बताइएको छ।
उच्च रक्तचाप र मधुमेहका बिरामी रहेका आलम लामो समयदेखि यी रोगहरूको औषधि सेवन गर्दै आएका थिए। अस्पतालले उनलाई मस्तिष्कघात (स्ट्रोक) भएको पुष्टि गरिसकेको छ।
जेठ १६ गते बिहान करिब ७ बजे आलमलाई अचानक बोली अस्पष्ट हुने र शरीरको एक भाग कमजोर हुनेजस्ता लक्षण देखिएपछि अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो। उनको शारीरिक रगत तथा एमआरआई जाँचपछि मस्तिष्कघात भएको पत्ता लागेको र तुरुन्तै औषधि दिएर उपचार सुरु गरिएको अस्पतालले जनाएको छ।
अस्पतालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अस्पताल भर्ना भएयता उनको स्वास्थ्यमा क्रमिक सुधार आएको उल्लेख गरेको छ।
स्मरण रहोस्, राजपुर बमकाण्डको अभियोगमा आलम ५ वर्ष ८ महिना ८ दिन कारागार जीवन बिताएर गत बुधबार मात्रै रिहा भएका थिए।