२०८२ असार २० गते, शुक्रबार १६:१५
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • विरोध प्रदर्शन: वीरगन्जमा सडक विस्तारको नाममा विस्थापनविरुद्ध “वीरगन्ज बचाऊ” र “युवा तथा व्यापारी संघर्ष समिति”ले पसल बन्द गरी टायर बालेर विरोध गरे।
  • महानगरको कदम: मेयर सिंहको निर्देशनमा जीर्ण भवन भत्काउन डोजर चल्यो, समितिले यसलाई गैरकानुनी भन्यो।
  • स्थानीय माग: अदालतको पूर्ण फैसला नआएसम्म भत्काउने कार्य रोक्न माग, १,१०० घरधनी प्रभावित हुने दाबी।

वीरगन्ज –

वीरगन्जको मेनरोड क्षेत्रमा प्रस्तावित सडक विस्तारको नाममा स्थानीय घरधनी र व्यापारीहरूलाई विस्थापन गर्न खोजिएको भन्दै “वीरगन्ज बचाऊ संघर्ष समिति” र “वीरगन्ज युवा तथा व्यापारी सडक पीडित संघर्ष समिति”ले संयुक्त रूपमा शुक्रबार विरोध प्रदर्शन गरेका छन्। विरोध स्वरूप मुख्य सडकका पसलहरू बिहान ११ बजेसम्म बन्द गरिएको छ भने घण्टाघर, आदर्शनगरलगायतका क्षेत्रमा टायर बालेर प्रदर्शन गरिएको छ।

बिहीबार वीरगन्जको रानीसती अतिथि सदनमा आयोजित विरोध कार्यक्रममा स्थानीयले विकासको नाममा जबर्जस्ती र अन्याय भएको भन्दै कडा निन्दा गरेका थिए। उक्त कार्यक्रममा वीरगन्ज बचाऊ संघर्ष समिति र वीरगन्ज युवा तथा व्यापारी सडक पीडित संघर्ष समितिले संयुक्त रूपमा सडक विस्तारको विरोधमा आन्दोलनलाई तीव्र बनाउने निर्णय गरेको हो।

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले जेष्ठ २७ गते वडा नम्बर २, छपकैया पोखरीदेखि रजत जयन्ती चौकसम्मको सडक किनारका भवनहरू जीर्ण र कमजोर भएको भन्दै सात दिनभित्र हटाउन निर्देशन दिएका थिए। निर्देशनको पालना नभएपछि गत सोमबार महानगरले डोजर चलाएर भवनहरू भत्काउन सुरु गरेको थियो।

तर, संघर्ष समितिहरूले यो कार्य गैरकानुनी भएको दाबी गरेका छन्। समितिका अनुसार सर्वोच्च अदालतको पूर्ण फैसला नआएसम्म यस्तो कदम चाल्नु गलत छ। “फैसलाको पूर्णपाठ नआउँदै सडक सीमाङ्कन र भत्काउने कार्य शुरू गरिएको छ, यो ऐतिहासिक वीरगन्जको व्यापारिक क्षेत्रलाई नामेट पार्ने षड्यन्त्र हो,” समितिका एक प्रतिनिधिले भने। उनका अनुसार सडक विस्तार भएमा गण्डक पुलदेखि मितेरीपुलसम्म करिब १,१०० घरधनी प्रभावित हुनेछन्, जसमध्ये ५०० घरधुरीको एक हात पनि जग्गा नरहने अवस्था आउनेछ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस