रौतहट –
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी निर्वाचनसम्म मधेश प्रदेशको गठबन्धन कायम रहने बताएका छन् ।
रौतहटको गौरमा नेपाली काँग्रेसले आयोजना गरेको स्वागत तथा अभिनन्दन कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री यादवले सात दलीय गठबन्धन मजबुत रहेको र एकजुट भएर काम गर्ने बताए ।
गठबन्धनको छलफलकै आधारमा मन्त्रीमण्डल विस्तार गर्ने समेत उनले बताए । स्वागत कार्यक्रममा बोल्दै उनले मधेशमा रहेको बेथितिको अन्त्य गर्न आफूले ठोस कदम चाल्ने बताए ।
‘यस प्रदेशमा रहेका बेथितिहरू हटाएर सुशासन कायम गर्ने मेरो पहिलो प्राथमिकता रहनेछ,’ मुख्यमन्त्री यादवले भने, ‘प्रदेशको विकासका लागी सबै किसिमका चुनौतीहरूको सामना गर्दै म अगाडि बढ्नेछु ।’
उनले मधेशमा समस्याको चाङ रहेको चुनौतीहरूलाई पार गर्दै रोकिएका विकासका योजनाहरू अगाडि बढाउने र नयाँ योजना तथा रणनीतिलाई अगाडी ल्याउने बताए ।
शिक्षा, स्वास्थ्य र कृषिलाई पहिलो प्राथमिकतामा राखेर आफूले काम गर्ने समेत उनले बताए ।
मधेश प्रदेशको छैंठौ मुख्यमन्त्रीको रूपमा कार्यभार सम्हाले पछि आज गृहजिल्ला रौतहटका आएका यादवले विभिन्न शक्ति पीठहरूमा पूजा अर्चना समेत गरेका छन् ।
मुख्यमन्त्री यादवलाई स्थानीयहरूले जिल्लाका अलग अलग स्थानमा कार्यक्रम आयोजना गरेर सम्मान गरेका छन् ।














