वीरगन्ज-
सवारी दुर्घटना मुद्दामा कैद सजाय काटिरहेका वीरगन्ज महानगरपालिका–१२ का अनिल महतो कोईरीको उपचारको क्रममा मृत्यु भएको छ। उनी केही दिनयता पेटसम्बन्धी समस्याबाट पीडित थिए।
कारागारबाट अस्पतालसम्म
विगत ३ वर्षदेखि कैद सजाय भुक्तान गरिरहेका कोईरी आउँदो चैत महिनामा कैद सजाय पूरा गरी रिहा हुने तयारीमा थिए।
आज दिउँसो करिब १२ बजेतिर उनको स्वास्थ्य अवस्था अचानक गम्भीर बनेपछि कारागार प्रहरीको सहयोगमा उनलाई तत्काल उपचारका लागि नारायणी अस्पताल पुर्याइएको थियो। अस्पताल पुगेपछि उपचारकै क्रममा उनको मृत्यु भएको पुष्टि भएको छ।
परिवारद्वारा लापरवाहीको आरोप
मृतक अनिल महतो कोईरीका दाइले कारागार प्रशासनको लापरवाहीका कारण आफ्नो भाइको मृत्यु भएको आरोप लगाएका छन्।
मृत्युको जानकारी पाएलगत्तै परिवारजन अस्पतालमा केही समय तनावग्रस्त बनेका थिए। तर, प्रहरी प्रशासनले तत्काल परिस्थितिलाई नियन्त्रणमा लिँदै परिवारलाई सम्झाइ–बुझाइ गरेको थियो।
अन्त्यमा, आवश्यक प्रक्रिया पूरा गरी शवको पोष्टमार्टमपछि परिवारजनको जिम्मा लगाइएको अस्पताल स्रोतले जनाएको छ।














