जनकपुरधाम-
मधेश प्रदेश सभाको रिक्त सभामुख पदका लागि आइतबार निर्वाचन हुने भएको छ। प्रदेश सभा सचिवालयका अनुसार सभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ। सात दलीय सत्ता गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद रामअशिष यादव र नेकपा एमालेका तर्फबाट समानुपातिक सांसद त्रिलोकी प्रसादले उम्मेदवारी दर्ता गराउनुभएको हो।
सभामुख चयनका लागि आइतबार दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ। त्यसअघि बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर निर्वाचन प्रक्रियालाई अन्तिम रूप दिइने सचिवालयले जनाएको छ।
जसपाका उम्मेदवार रामअशिष यादवको प्रस्तावकमा नेपाली कांग्रेसका वीरेन्द्र प्रसाद सिंह र समर्थकमा नेकपा माओवादी केन्द्रका फकिरा महतो रहनुभएको छ। यादवलाई कांग्रेस, जसपा, जनमत, माओवादी केन्द्र, नेकपा (एस), लोसपा र नागरिक उन्मुक्ति पार्टीको समर्थन छ। यो सात दलीय गठबन्धनसँग ७४ सांसद छन्, जुन प्रदेश सभाको कुल संख्याको दुई-तिहाइभन्दा बढी हो।
कांग्रेसका प्रमुख सचेतक कुमर कान्त झाले संघीय समाजवादी र राप्रपाका १–१ सांसदसँग पनि संवाद भइरहेको र यादवलाई सर्वसम्मत बनाउने प्रयास जारी रहेको बताउनुभयो। अर्कोतर्फ, एमालेका उम्मेदवार त्रिलोकी प्रसादलाई एमालेका २४ सांसदको साथ रहने देखिएको छ। बाराका बासिन्दा प्रसाद एमालेका समानुपातिक सांसद हुन्।
धनुषा २ (ख) बाट लगातार दोस्रो पटक निर्वाचित यादव भद्र र शालीन व्यक्तित्वका रूपमा चिनिन्छन्। उनी प्रदेश सभामा दुई पटक ‘उत्कृष्ट सांसद’ बाट पुरस्कृत भइसकेका छन्। पत्रकार महासंघ धनुषाका पूर्व सभापति समेत रहेका यादव जनकपुरको प्रसिद्ध महागंगा आरतीका संस्थापक र वातावरण संरक्षणका अभियन्ता पनि हुन्।
तत्कालीन सभामुख रामचन्द्र मण्डललाई पदीय आचरण अनुकूल काम नगरेको भन्दै दुई-तिहाइ बहुमतले महाभियोग लगाएर पदमुक्त गरेपछि मधेशमा नयाँ सभामुख चयन गर्न लागिएको हो। देशका सातै प्रदेशमध्ये महाभियोगमार्फत सभामुख हटाइएको यो पहिलो घटना हो। मण्डलको कार्यकाल विवादित बनेपछि अहिले प्रदेश सभाले नयाँ नेतृत्व छान्न लागेको हो।
यसअघि मधेश प्रदेशको पहिलो कार्यकालमा जसपाकै सरोज कुमार यादव सभामुख हुनुहुन्थ्यो। यसपटक पुनः सोही दलले सभामुखको जिम्मेवारी पाउने निश्चित देखिएको छ।















