२०८२ माघ ५ गते, सोमबार १९:३९

दुर्गा प्रसाईं पोखराबाट पक्राउ: सरकारी डाटा चोरीको ‘मास्टरप्लान’ देखि निर्वाचन आयोगलाई घुसको आरोपसम्म!

पोखरा/काठमाडौं –

मेडिकल व्यवसायी एवं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईं सोमबार पोखराबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा कास्की प्रहरीले उनलाई पोखरामा आयोजित एक कार्यक्रमकै बीचबाट नियन्त्रणमा लिएको हो।

प्रसाईंमाथि निर्वाचन आयोगको मानमर्दन गरेको, सरकारी वेबसाइट ह्याक गरी डाटा चोरी गर्ने योजना बुनेको र राज्यविरुद्ध भ्रम फैलाएको जस्ता गम्भीर आरोपहरू लागेका छन्। केही समयअघि प्रसाईंले ‘कांग्रेसको विशेष महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ घुस दिएर नतिजा आफ्नो पक्षमा पारेको’ भन्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेका थिए। सोही विषयलाई लिएर निर्वाचन आयोगले उनलाई कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालय र प्रहरीलाई पत्राचार गरेको थियो।

पक्राउ पर्नुको अर्को मुख्य कारण प्रसाईंको सार्वजनिक भएको एउटा ‘अडियो क्लिप’ पनि हो। जसमा उनले सरकारी वेबसाइट ह्याक गरेर डाटा चोरी गर्नका लागि ठुलो रकम लगानी गर्ने योजना बनाएको सुनिन्छ। प्रसाईंले पछिल्लो समय निर्वाचन बहिस्कारको अभियान चलाइरहेका थिए भने सरकारी संयन्त्रहरूमाथि लगातार प्रहार गर्दै आएका थिए।

रोचक कुरा त के छ भने, प्रसाईं नेतृत्वको अभियान र सरकारबीच गत माघ २ गते मात्रै १२ बुँदे सम्झौता भएको थियो। उक्त सम्झौतामा सरकारले प्रसाईंमाथि लागेका संगठित अपराध र फौजदारी मुद्दाहरू फिर्ता लिने र राजसंस्था पुनस्र्थापना लगायतका मागमा सुझाव दिन ‘उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग’ गठन गर्ने सहमति भएको थियो। तर, सम्झौताको मसी सुक्न नपाउँदै प्रसाईं फेरि नयाँ अपराधको योजना बुनेको आरोपमा पक्राउ परेका छन्।

कास्की प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतका अनुसार, प्रसाईंलाई थप अनुसन्धान र कारबाहीका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ। पटक-पटक पक्राउ पर्दै र छुट्दै आएका प्रसाईंको पछिल्लो गतिविधिलाई सुरक्षा निकायले राज्य संयन्त्रमाथि नै धावा बोलेको रूपमा लिएको छ।

पोडकास्ट सुन्नुहोस