वीरगन्ज–
पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण गरिएको जग्गा तथा भौतिक सम्पत्तिको मुआब्जा माग गर्दै स्थानीय पीडितहरूले सोमबारदेखि अनिश्चितकालीन धर्ना सुरु गरेका छन्। ड्राइपोर्टको मूल गेटमै बसेर स्थानीयले धर्ना दिएपछि त्यहाँबाट मालबाहक ट्रक, कन्टेनरलगायतका सवारीसाधन बाहिरिन सकेका छैनन्, जसले गर्दा नियमित आवागमन तथा आयात–निर्यातसँग सम्बन्धित ढुवानी सेवा पूर्ण रूपमा प्रभावित भएको छ।
‘१२ वर्षदेखि आश्वासन मात्र पाइयो, अब अधिकार नपाएरसम्म आन्दोलन रोकिँदैन’
वडा सदस्य तेतरी देवीले सरकारले विगत १२ वर्षदेखि मुआब्जा दिने झूटो आश्वासन मात्रै दिँदै आएको तर अहिलेसम्म समस्या समाधान नगरेको गुनासो गरेकी छिन्। मुआब्जाका विषयमा जिल्ला प्रशासन कार्यालयदेखि सरकारका सम्बन्धित निकायसम्म पटक–पटक छलफल र सम्झौता भए पनि कार्यान्वयन नभएको उनको भनाइ छ।
“पटक–पटकको आश्वासन र धोकापछि बाध्य भएर हामी निर्णायक आन्दोलनमा उत्रिएका हौँ,” वडा सदस्य देवीले बाइट दिँदै बताइन्, “अब माग पूरा नभएसम्म आन्दोलन रोकिँदैन।” पीडितहरूले अधिग्रहणका क्रममा गुमेको जग्गा तथा भौतिक संरचनाको उचित मुआब्जा तत्काल उपलब्ध गराउन सरकारसँग जोडदार माग गरेका छन्।
प्रशासनको टोलीसँगको दुई घण्टा लामो वार्ता निष्कर्षविहीन
आन्दोलनको खबर पाएलगत्तै पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार चापागाइँलगायतको सुरक्षा टोली घटनास्थलमा पुगी आन्दोलनरत स्थानीयसँग संवाद तथा सहकार्यका लागि पहल गरेको थियो। अधिकारीहरूसँग करिब २ घण्टा लामो छलफल तथा संवाद भए पनि स्थानीयहरूले आफ्नो आन्दोलन नरोक्ने र मुआब्जाको सुनिश्चितता नभएसम्म पछि नहट्ने अडान राखेपछि प्रशासनको टोली रितो हात फर्किएको थियो।
यसैबीच, प्रमुख जिल्ला अधिकारीले भने स्थानीयहरूको जग्गाको मुआब्जा यसअघि पटक–पटक गरी वितरण भइसकेको जानकारी दिएका छन्। जग्गा अधिग्रहण गर्दाको समयमा ती जग्गामा घर भए-नभएको र सोको घरको मुआब्जा दिन मात्र बाँकी रहेको उनको भनाइ छ। उक्त समस्याको स्थायी समाधानका लागि एक कार्यदलसमेत गठन भइसकेको जानकारी दिँदै प्रजिअले अबको एक महिनाभित्रै बाँकी मुआब्जा वितरण भइसक्ने स्पष्ट पारेका छन्।
प्रशासनले छिट्टै समस्या समाधान हुने दाबी गरे पनि आन्दोलनरत पक्षले ठोस निर्णय र कार्यान्वयन नभएसम्म धर्ना जारी राख्ने अडान लिएका छन्। आन्दोलनका कारण सुख्खा बन्दरगाहका सम्पूर्ण गतिविधिहरू अहिले ठप्प प्रायः बनेका छन्।











