वीरगन्ज-
नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पर्साका प्रभावशाली नेता रमेश रिजाल पार्टीको निर्वाचन प्रक्रियाबाट बाहिरिएका छन्।
काठमाडौंमा जारी कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट एक दर्जनभन्दा बढी नेता विभिन्न पदमा उम्मेदवारी दिने तयारी गरिरहेका बेला जिल्लाका प्रभावशाली नेता रिजालले भने यसपटक केन्द्रीय समितिको कुनै पनि पदमा उम्मेदवारी नदिने निर्णय गरेका हुन्।
चार दशकभन्दा बढी समयदेखि पार्टी, संगठन र खुला राजनीतिमा सक्रिय रिजाल निर्वाचन प्रक्रियाबाट बाहिरिएपछि पर्साको कांग्रेस राजनीतिमा यसलाई चासोका साथ हेरिएको छ।
रिजालले युवालाई अवसर प्रदान गर्न आफू निर्वाचन प्रक्रियाबाट अलग भएको बताए। उनका अनुसार १५औँ महाधिवेशनमा पार्टीको युवा पुस्तामा उत्साह बढी देखिएको छ। युवाले अवसर पाए संगठन र समाजका लागि केही राम्रो गर्न सक्ने विश्वासका साथ आफूले उम्मेदवारी नदिने निर्णय गरेको उनले बताए।
‘पार्टी सभापति तथा नेतृत्व वर्गलाई मेरो आवश्यकता महसुस भएमा केन्द्रीय समितिमा ल्याउने विभिन्न बाटा खुला छन्,’ रिजालले भने, ‘त्यसैले यसपटक युवा पुस्तालाई अवसर दिने निष्कर्षमा पुगेको हुँ।’
काठमाडौंमा जारी महाधिवेशनको उत्साह राजधानीमा मात्र सीमित नभई देशभर देखिएको नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले बताए। उनका अनुसार पर्साबाट पार्टीका विभिन्न पदमा उम्मेदवारी दिन एक दर्जनभन्दा बढी नेता तयारी अवस्थामा छन्, जसमध्ये अधिकांश युवा छन्।
कुर्मीका अनुसार केन्द्रीय सहमहामन्त्री पदमा अजयकुमार चौरसिया र सुरेन्द्र चौधरीले उम्मेदवारी दिने तयारी गरेका छन्। यस्तै, केन्द्रीय सदस्य पदका लागि अनिल रुगंटा, जनार्दनसिंह क्षेत्री, रामरूप कुर्मी, राकेश सिंह, विजय सर्राफ, असर्फी साह, सहरुम रात गद्दीलगायतका नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दिने तयारी गरेका छन्।












