२०८२ माघ ६ गते, मंगलवार १९:१५

“पुराना होइन, नयाँ रोजौँ” नारासहित पर्सा–३ मा रूपेश पाण्डेको उम्मेदवारी दर्ता: विकासमुखी परिवर्तनको संकल्प

पर्सा –

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेकपा (एमाले) का युवा उम्मेदवार रूपेश कुमार पाण्डेले भव्य रूपमा मनोनयन दर्ता गराउनुभएको छ। हजारौँ समर्थक, कार्यकर्ता र शुभचिन्तकहरूको उत्साहपूर्ण र्‍यालीसहित पाण्डेले आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो।

सहिदप्रति सम्मान र धार्मिक अनुष्ठान मनोनयन दर्ता गर्नुअघि उम्मेदवार पाण्डेले पोखरिया नगरपालिकास्थित शिव मन्दिरमा विधिपूर्वक पूजा–अर्चना गर्नुभएको थियो। त्यसलगत्तै उहाँले वीर सहिद चन्दन पटेलको सालिकमा माल्यार्पण गरी लोकतान्त्रिक आन्दोलनका सहिदहरूप्रति सम्मान प्रकट गर्नुभयो। पाण्डेको यो कदमलाई स्थानीयले उनको राजनीतिक संस्कार र सामाजिक जिम्मेवारीबोधका रूपमा अर्थ्याएका छन्।

शिक्षा र स्वास्थ्य पहिलो प्राथमिकता मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पाण्डेले आफ्नो चुनावी एजेन्डा स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “पर्सा–३ का जनताले लामो समयदेखि परिवर्तनको महसुस गर्न पाएका छैनन्। मेरो पहिलो प्राथमिकता यस क्षेत्रको शिक्षा र स्वास्थ्य सेवामा आमूल सुधार ल्याउनु हुनेछ। युवा ऊर्जा र नयाँ सोचका साथ म यस क्षेत्रलाई आर्थिक र सामाजिक समृद्धिको नयाँ उचाइमा पुर्‍याउन प्रतिबद्ध छु।”

नेताहरूको ऐक्यबद्धता मनोनयन र्‍यालीमा एमालेका केन्द्रीय कमिटी सदस्य एवं पर्सा इन्चार्ज प्रभु हजरा, जिल्ला अध्यक्ष विश्वम्भर शर्मा, नेता शिव पटेल, पूर्व प्रदेश सभा सदस्य मञ्जुर अन्सारी, सखुवा प्रसौनी गाउँपालिका प्रमुख जसवन्त यादव लगायतका शीर्ष नेताहरूको बाक्लो उपस्थिति थियो। नेताहरूले पाण्डेलाई ‘स्वच्छ छवि र विकासप्रेमी युवा नेतृत्व’ भन्दै पर्सा–३ का लागि उनी नै सबैभन्दा उपयुक्त विकल्प भएको दाबी गरे।

चुनावी माहोल तातियो “पुराना होइन, नयाँ रोजौँ – क्षेत्रलाई विकासमुखीमा परिवर्तन गरौँ” भन्ने मूल नाराका साथ चुनावी मैदानमा होमिएका पाण्डेको पक्षमा देखिएको जनलहरले पर्सा–३ मा चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ। अनुशासित जनसहभागिता र युवाहरूको व्यापक समर्थनले गर्दा पाण्डे यस क्षेत्रमा एक बलियो र निर्णायक उम्मेदवारका रूपमा स्थापित हुनुभएको छ।

पोडकास्ट सुन्नुहोस