२०८२ माघ ११ गते, आईतवार १६:०६

मानव सेवाबाट उम्मेदवार रुङ्गटाद्वारा प्रचार–प्रसारको शुभारम्भ

वीरगन्ज-
पर्सा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अनिल कुमार रुङ्गटाले आजदेखि आफ्नो चुनावी प्रचार–प्रसारको औपचारिक शुभारम्भ गर्नुभएको छ। वीरगन्जकी आराध्य देवी श्री गहवामाईको पूजा–आराधना तथा मानव सेवा आश्रममा रहेका व्यक्तिहरूको सेवा गर्दै उहाँले प्रचार अभियान सुरु गर्नुभएको हो।

वीरगन्जको माइस्थानस्थित गहवामाई मन्दिरमा पूजा–आराधना गरेपछि रुङ्गटा सिर्सियामा अवस्थित मानव सेवा आश्रम पुग्नुभएको थियो। आश्रममा रहनुभएका व्यक्तिहरूलाई सेवा–प्रसाद ग्रहण गराउँदै उहाँले आफ्नो चुनावी अभियान प्रारम्भ गर्नुभएको हो।

मानव सेवा आश्रममा रुङ्गटालाई स्वागत गर्दै आश्रमका प्रमुख दिवेश मानसेवाले ‘जीवित भगवान’ सरह रहेका असहायहरूको सेवामा आश्रममा आउनुभएकोमा धन्यवाद व्यक्त गर्नुभयो। उहाँले रुङ्गटा सधैं हृदयदेखि नै मानव सेवा आश्रमलाई सहयोग गर्दै आएको, बेला–बेलामा आफैं फोन गरी आवश्यकताबारे जानकारी लिने व्यक्ति भएको उल्लेख गर्नुभयो। चुनावी व्यस्तताबीच पनि समस्यामा परेकाहरूको सेवा गर्न आउनु सराहनीय भएको बताउँदै उहाँले प्रतिनिधि सभा निर्वाचनमा सफलताको शुभकामना दिनुभयो।

आश्रममा उपस्थित रुङ्गटाले मानव सेवा नै सबैभन्दा ठूलो सेवा भएको बताउँदै मन, वचन र कर्मले यही सेवामा समर्पित हुन आफू पर्सा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारी दर्ता गराएको धारणा व्यक्त गर्नुभयो। विभिन्न समस्याका कारण आश्रमसम्म आइपुगेका ‘जीवित लक्ष्मी–नारायण’हरूको सेवा गर्न पाउँदा आफूलाई ठूलो आत्मसन्तोष प्राप्त भएको उहाँले बताउनुभयो।

चुनावी अभियानमा होमिएको वर्तमान अवस्थामा निर्वाचन परिणाम जे आए पनि मतगणना सकिएको तेस्रो दिन पुनः यही आश्रममा आएर सेवा गर्ने प्रतिबद्धता समेत उम्मेदवार रुङ्गटाले व्यक्त गर्नुभयो।

नेपाली कांग्रेसका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा उम्मेदवार रुङ्गटासँगै मानव सेवा आश्रममा नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, पार्टी नेता तथा वरिष्ठ समाजसेवी श्याम पोखरेललगायतको उपस्थिति रहेको थियो।

पोडकास्ट सुन्नुहोस