वीरगन्ज-
नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का उम्मेदवार अनिल रुङ्गटाले आज वीर शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ ले शहीद दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले विभिन्न आन्दोलनमा शहादत प्राप्त गरेका शहीदहरूको सालिकमा फूलमाला अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।
कार्यक्रमअन्तर्गत प्रजातान्त्रिक आन्दोलनमा शहादत प्राप्त गरेका वीर शहीद तेजबहादुर अमात्य, र्थिब मल्ल तथा मधेस आन्दोलनमा शहादत प्राप्त शहीदहरूको सालिकमा श्रद्धाञ्जली अर्पण गरिएको थियो । वीरगन्जको नारायणी अस्पताल परिसरमा अवस्थित र्थिब मल्लको सालिक, गण्डक चोकमा अवस्थित तेजबहादुर अमात्यको सालिक तथा वीरगन्जको घण्टाघर चोकमा रहेका शहीदहरूको सालिकमा फूलमाला अर्पण गरिएको थियो ।
सो अवसरमा उम्मेदवार रुङ्गटाले शहीदहरूको बलिदानकै जगमा आज नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र तथा समावेशी व्यवस्था स्थापना भएको स्मरण गराउनुभयो । राष्ट्र विकसित र नागरिक समृद्ध नभएसम्म शहीदहरूको सपना पूरा नहुने उल्लेख गर्दै उहाँले राष्ट्र निर्माणको जिम्मेवारी पूरा गर्न नेपाली कांग्रेस दृढ संकल्पका साथ अघि बढेको बताउनुभयो ।
मुलुकमा विद्यमान भेदभाव, भ्रष्टाचार र ढिलासुस्तीको अन्त्य गर्दै नागरिकलाई छिटो–छरितो सेवा घरदैलोमै पुर्याउन सके मात्र शहीदले देखेको सपना साकार हुने उहाँको भनाइ थियो । कांग्रेसको नेतृत्वमा नै देशमा सकारात्मक परिवर्तनहरू सम्भव भएको उल्लेख गर्दै अब गगन थापाको नेतृत्वमा बाँकी रहेका राष्ट्रिय दायित्वहरू पनि पूरा हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्द गुप्ताको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पार्टीका पूर्व जिल्ला सभापति एवं संविधानसभा सदस्य अजयकुमार द्विवेदी, जिल्ला उपसभापति रामनारायण कुर्मी, पूर्व नगर सभापति भोला साह कलवार, महाधिवेशन प्रतिनिधि किरण सरकार, मिन्टु सिंह, मनोज चौधरी, नेपाल विद्यार्थी संघ पर्साका सभापति रमेश यादव लगायत पार्टीका नेता–कार्यकर्ता तथा स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।














