वीरगन्ज-
पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग) लाई परवानीपुरका युवाहरूले भव्य स्वागत गरेका छन्। शनिबार परवानीपुर गाउँपालिका वडा नम्बर २१ मा आयोजित एक विशेष कार्यक्रमका बीच स्थानीय Gen Z (नयाँ पुस्ता) का युवाहरूले उम्मेदवार सिंहलाई खादा र माला लगाई सम्मान गरेका हुन्।
भेटघाट तथा संवाद कार्यक्रममा उम्मेदवार सिंहले टोलवासी र युवाहरूसँग प्रत्यक्ष कुराकानी गर्दै यस क्षेत्रका अधुरा विकास निर्माणका कार्यहरू र शिक्षाको अवस्थाबारे गम्भीर छलफल गर्नुभयो।
युवाहरूलाई सम्बोधन गर्दै उम्मेदवार सिंहले भन्नुभयो, “हाम्रा युवाहरू शिक्षा र रोजगारीका लागि काठमाडौं वा विदेश भौँतारिनुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ। गाउँमै बसेर पनि सम्मानजनक रोजगारी र गुणस्तरीय शिक्षा सम्भव छ, जसका लागि म संसदमा आवाज उठाउनेछु।” उहाँले युवाहरूको ऊर्जालाई देश निर्माणमा लगाउन नयाँ सोच र भिजन आवश्यक रहेकोमा जोड दिनुभयो।
वीरगन्ज महानगरपालिका वडा नम्बर २० को वडा अध्यक्षका रूपमा सफल कार्यकाल बिताउनुभएका सिंहले आफ्नो सोही अनुभवलाई संघीय संसदमा पुर्याउने प्रतिबद्धता जनाउनुभयो। “मैले स्थानीय तहमा बसेर जनताको सेवा गरेको छु। अब त्यो अनुभव र जनताको आवाजलाई संघीय संसदको रोष्ट्रमसम्म पुर्याउनु मेरो मुख्य लक्ष्य हो,” उहाँले बताउनुभयो।
कार्यक्रममा सहभागी Gen Z युवाहरूले पुराना दलहरूले युवाका मुद्दा ओझेलमा पारेको भन्दै रामकिशोर सिंह जस्तो इमानदार र युवामैत्री नेतृत्वप्रति आफूहरूको पूर्ण विश्वास रहेको बताए। उज्यालो नेपाल पार्टीले यस्ता जनसम्पर्क कार्यक्रमले जनतासँगको सम्बन्ध थप मजबुत बन्दै गएको र चुनावी माहोल आफ्नो पक्षमा सिर्जना हुँदै गएको दाबी गरेको छ।













