वीरगन्ज-
नेपाली काँग्रेस पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अनिल कुमार रुङ्गटाले बहुरुपिया उम्मेदवारहरूको प्रलोभनमा नपरी देश विकासको स्पष्ट भिजन भएका दल र उम्मेदवारलाई मतदान गर्न मतदातालाई अपिल गर्नुभएको छ।
नेपाली काँग्रेस वीरगन्ज महानगरपालिका वडा नं. १४ का बुथ सभापति विशेष्वर पटेलको अध्यक्षतामा पिपरामा आज आयोजना गरिएको भेटघाट कार्यक्रममा सम्बोधन गर्दै उम्मेदवार रुङ्गटाले यस्तो बताउनुभएको हो।
उहाँले राष्ट्र विकासका लागि स्पष्ट संकल्प र दीर्घकालीन योजना नभएका दल तथा तिनका बहुरुपिया उम्मेदवारलाई विगतका निर्वाचनमा जनताले जिताए पनि त्यसको प्रतिफल जनताले नपाएको उल्लेख गर्नुभयो। त्यसैले देश विकासको स्पष्ट भिजन र दृढ संकल्प बोकेको नेपाली काँग्रेस र त्यसका कर्मठ उम्मेदवारलाई मतदान गर्न उहाँले आग्रह गर्नुभयो।
आम मतदातालाई झुक्याउँदै कहिले माओवादी त कहिले मधेसवादी दलहरूले मत पाए पनि जनताको जीवनस्तरमा अपेक्षित सुधार नआएको उहाँको भनाइ थियो। अहिले युवाको नाममा विभिन्न षड्यन्त्र र प्रपञ्च गरेर मतदातालाई भ्रममा पार्ने प्रयास भइरहेको भन्दै त्यसबाट सचेत रहन उहाँले सर्वसाधारणलाई आग्रह गर्नुभयो।
“सधैँ चटकिका कुरामा मात्रै परेर मतदान गर्दै जाने हो भने देश र जनताको विकास कहिले हुन्छ ?” भन्ने प्रतिप्रश्न गर्दै उम्मेदवार रुङ्गटाले यसपटक नेपाली काँग्रेसलाई मतदान गर्न आह्वान गर्नुभयो। उहाँले विगत २० वर्षमा हुन नसकेको विकास गगन थापाको नेतृत्वमा बन्ने काँग्रेस सरकारले आगामी पाँच वर्षभित्र गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नेपाली काँग्रेसका सभापति गगन थापा र पार्टीसँग देश विकास गर्ने स्पष्ट योजना तथा दृढ संकल्प रहेको उल्लेख गर्दै उहाँले आगामी पाँच वर्षका लागि देश र जनताको हितमा काँग्रेसलाई मतदान गर्न आग्रह गर्नुभयो।
विभिन्न पार्टीका उम्मेदवारहरूले फैलाउँदै हिँडेको भ्रम र जालझेलमा नपरी यसपटक काँग्रेसलाई मतदान गरेर देश तथा जनतामैत्री आर्थिक नीति निर्माण गरिने र विकास तथा रोजगारीको वातावरण सिर्जना गरिने उहाँले मतदातालाई विश्वास दिलाउनुभयो।
चुनाव जित्न बारम्बार पार्टी फेर्ने, झुटा आश्वासन र भ्रमको खेती गरेर सत्ता लिप्सामा केन्द्रित नेताहरूलाई पुनः मतदान गरे आगामी पाँच वर्ष पनि नेपाली जनताले दुःख पाउने निश्चित रहेको भन्दै विगतबाट पाठ सिक्न उहाँले आग्रह गर्नुभयो। वर्गीय हित सुरक्षित र उज्ज्वल भविष्यका लागि नेपाली काँग्रेसलाई मतदान गरी गगन थापाको नेतृत्वमा बहुमतको सरकार बनाउन उहाँले सबैलाई आह्वान गर्नुभयो।
पिपरा धर्मशालामा आयोजित भेटघाट कार्यक्रममा स्थानीय मतदाताहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै नेपाली काँग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले पिपरा टोलमा देखिएको सडक समस्याको समाधानका लागि काँग्रेसले पहल सुरु गरिसकेको जानकारी दिनुभयो। उहाँका अनुसार केही दिनमै मधेस प्रदेश सरकारले उक्त सडक निर्माणका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गर्ने तयारी गरेको छ। साथै वडामा देखिएका श्मशान घाट, कब्रगाह तथा मन्दिर व्यवस्थापनका समस्याहरू समाधान गर्न वीरगन्ज महानगरपालिका र प्रदेश सरकारसँग पहल भइरहेको उहाँले बताउनुभयो।
कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि प्रकाश उपाध्याय, पर्सा क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्द गुप्ता, पूर्व सभापति भोला साह कलवार, उपसभापति अनिल सिंहलगायत पार्टीका नेता, कार्यकर्ता तथा स्थानीयवासीहरूको बाक्लो उपस्थिति रहेको थियो।














