२०८२ माघ १९ गते, सोमबार १३:०४

माधव नेपालसहित ९३ जनाविरुद्धको भ्रष्टाचार मुद्दा आज विशेष अदालतमा सुनुवाइ

काठमाडौँ –

पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग जोडिएको बहुचर्चित जग्गा हिनामिना प्रकरणमा नेकपाका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ आइतबार विशेष अदालतमा हुँदैछ।

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासमा यस मुद्दाको पेसी तोकिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि अनुसन्धान गरेर तामेलीमा राख्ने निर्णय गरेको फाइल झिकाउन विशेष अदालतले आदेश दिएपछि मुद्दा पुनः अदालतको बहसमा आएको हो।

यसअघि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले अख्तियारलाई माधव नेपालसहितका प्रतिवादीमाथि गरिएको अनुसन्धान तथा तामेलीसम्बन्धी सम्पूर्ण फाइल पेश गर्न आदेश दिएको थियो। सो आदेशअनुसार अख्तियारबाट फाइल प्राप्त भएपछि आइतबारका लागि सुनुवाइको मिति तोकिएको हो।

अख्तियारले जेठ २२ गते पतञ्जलि जग्गा प्रकरणमा माधव नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो। नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, सोहीअनुसारको जरिवाना तथा सजाय मागदाबी गरिएको छ।

अभियोगपत्रमा उल्लेख भएअनुसार, तत्कालीन प्रधानमन्त्रीको हैसियतमा माधव नेपालले पदको दुरुपयोग गर्दै सरकारी सार्वजनिक सम्पत्ति व्यक्तिगत तथा संस्थागत स्वार्थमा हस्तान्तरण गराएको, साथै भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको अख्तियारको आरोप छ।

अख्तियारका अनुसार, माधव नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गतेको बैठकबाट पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति दिएको थियो। त्यसअघि, २०६६ माघ १८ गते ठाडो आदेशमार्फत पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा बिक्री तथा सट्टापट्टा गर्न अनुमति दिलाइएको अभियोगपत्रमा दाबी गरिएको छ।

यस प्रकरणमा ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना गरिएको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो। सो जग्गा कारोबारबाट राज्यलाई ठूलो आर्थिक क्षति पुगेको दाबी गर्दै अख्तियारले कुल १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरेको छ।

बहुचर्चित यो प्रकरणको सुनुवाइले अब अदालतमा कस्तो मोड लिन्छ भन्ने विषयमा राजनीतिक वृत्त र आम जनतामा चासो बढेको छ।

पोडकास्ट सुन्नुहोस