काठमाडौँ-
इजरायलले शनिबार गाजा पट्टीभर गरेको भीषण हवाई आक्रमणले फेरि मानवीय संकटलाई चर्काएको छ। स्थानीय उद्धार अधिकारीहरूका अनुसार आक्रमणमा कम्तीमा ३२ प्यालेस्टिनीको ज्यान गएको छ, जसमा महिला र बालबालिकासमेत परेका छन्।
हमासद्वारा सञ्चालित नागरिक सुरक्षा निकायले दिएको जानकारीअनुसार दक्षिणी शहर खान युनिसमा विस्थापित नागरिकहरू बसिरहेको एक टेन्टमा हेलिकोप्टरबाट आक्रमण गरिएको थियो। सुरक्षित ठानिएको आश्रयस्थलमै बम खस्दा निर्दोष नागरिकहरू मारिनु परेको जनाइएको छ।
प्यालेस्टिनी अधिकारीहरूका अनुसार गत अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको युद्धविरामको दोस्रो चरण यसै महिना लागू भएपछि यति ठूलो स्तरको आक्रमण पहिलोपटक भएको हो। यसले युद्धविरामप्रति नै गम्भीर प्रश्न उठाएको छ।
इजरायली सेनाले भने हमासले युद्धविराम सम्झौता उल्लंघन गरेपछि त्यसको ‘जवाफी कारबाही’स्वरूप आक्रमण गरिएको दाबी गरेको छ। इजरायल डिफेन्स फोर्सेसले जारी गरेको विज्ञप्तिमा पूर्वी रफाहमा रहेको भूमिगत संरचनाबाट आठ जना ‘आतंककारी’ बाहिर निस्कँदै गर्दा पहिचान गरी आक्रमण गरिएको जनाएको छ।
आईडीएफका अनुसार इजरायल सुरक्षा एजेन्सी सँगको संयुक्त कारबाहीमा गाजाका विभिन्न स्थानमा आक्रमण गरिएको हो। ती आक्रमणमा हमासका चार जना कमान्डर, हतियार भण्डारण केन्द्र, हतियार उत्पादन स्थल र मध्य गाजामा रहेका दुई प्रक्षेपण स्थल लक्ष्य बनाइएको दाबी गरिएको छ।
यता, हमासले आक्रमणको कडा निन्दा गर्दै अमेरिकालाई तत्काल हस्तक्षेप गर्न आग्रह गरेको छ। हमासको भनाइमा, “यी निरन्तर उल्लंघनहरूले इजरायली सरकारले गाजा पट्टीविरुद्ध नरसंहारको क्रूर युद्ध जारी राखेको स्पष्ट देखाउँछ।”
हमासका अनुसार खान युनिसमा मात्रै विस्थापित एकै परिवारका सात सदस्यको मृत्यु भएको छ। नागरिक सुरक्षा निकायका प्रवक्ताले आक्रमणले आवासीय अपार्टमेन्ट, टेन्ट, आश्रयस्थल र एक प्रहरी चौकीसमेत ध्वस्त भएको जानकारी दिएका छन्।
गाजा सिटीस्थित शिफा अस्पतालका अधिकारीहरूका अनुसार शहरमा भएको अर्को हवाई आक्रमणमा आवासीय भवनमा बम खस्दा तीन बालबालिका र दुई महिलाको ज्यान गएको छ।
समाचार संस्था रोयटर्ससँग कुरा गर्दै मृत बालबालिकाका काका सामेर अल–अतबाशले भावुक हुँदै भने,
“हामीले मेरा तीन साना भतिजीहरू सडकमा भेट्टायौं। सबैले ‘युद्धविराम’ भन्छन्, तर ती बालबालिकाले के गल्ती गरेका थिएरु हामीले के अपराध गरेका थियौंरु”
गाजाका विभिन्न स्थानबाट आएका भिडियो र तस्वीरहरूमा भग्नावशेषबाट शव निकालिँदै गरेको, ध्वस्त भवनहरू र त्रसित सर्वसाधारण देखिन्छन्। युद्धविरामको आशा बोकेका गाजावासीहरू फेरि बमको छायाँमा बाँच्न बाध्य भएका छन्।














