पर्सा-
नेकपा (एमाले) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की उम्मेदवार रिमा कुमारी यादवको पक्षमा चुनावी माहोल निकै उत्साहजनक देखिएको छ। बिहीबार निर्वाचन क्षेत्र अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर–३, झाबराहामा आयोजित मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार यादवलाई स्थानीयवासीले भव्य र न्यानो स्वागत गरेका छन्।
झाबराहा पुग्नुभएकी यादवलाई स्थानीय महिला, युवा तथा वृद्धवृद्धाहरूले फूलमाला र अबिर लगाएर स्वागत गरेका थिए। स्वागतका क्रममा स्थानीयले नाचगान र नाराबाजी गर्दै गाउँमा उत्सवकै वातावरण सिर्जना गरेका थिए। झाबराहा मात्र नभई आसपासका गाउँबाट समेत ठूलो संख्यामा समर्थकहरू उम्मेदवारलाई भेट्न आइपुगेका थिए।
यसपटक पर्सा–२ ले लामो समयपछि योग्य, शिक्षित र जनताको मर्म बुझ्ने महिला उम्मेदवार पाएको भन्दै स्थानीय मतदाताहरूमा छुट्टै उमङ्ग देखिएको छ। घरदैलोका क्रममा मतदाताहरूले भनिरहेका थिए, “हामीले खोजेको जस्तै विकासप्रेमी र सरल स्वभावको नेता यसपालि रिमाजीको रूपमा पाएका छौँ।” हजारौँ कार्यकर्ता र समर्थकहरूको जुलुसले पर्सा–२ मा एमालेको बलियो पकड रहेको संकेत गरेको छ।
शिक्षा, स्वास्थ्य र कृषिमा आमूल परिवर्तनको संकल्प
भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार रिमा कुमारी यादवले पर्सा–२ को पिछडिएको अवस्थालाई सुधार्न आफू मैदानमा आएको बताउनुभयो। उहाँले भन्नुभयो, “पर्सा–२ का जनताले अब विकासका लागि कुर्नुपर्ने छैन। शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीमा आमूल परिवर्तन ल्याउन मसँग स्पष्ट ‘भिजन’ र योजना छ। विगतमा अधुरा छोडिएका कामहरूलाई पूर्णता दिनु मेरो पहिलो प्राथमिकता हुनेछ।”
यादवले आफू सधैँ जनताको सुख–दुःखमा साथै रहने र पर्सा–२ लाई समृद्ध क्षेत्र बनाउने दृढ संकल्प दोहोर्याउनुभयो। उहाँले स्थिर सरकार र दिगो विकासका लागि सूर्य चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन सम्पूर्ण मतदाताहरूसँग अपिल गर्नुभयो।













