२०८२ माघ २३ गते, शुक्रबार १८:३४

युवाको कुटपिटबाट वीरगन्जमा ६५ वर्षीय वृद्धको मृत्यु

वीरगन्ज-

वीरगन्जको राधेमाई टोलमा मोटरसाइकल पार्किङको सामान्य विवादले उग्र रूप लिँदा एक ६५ वर्षीय वृद्धको ज्यान गएको छ।

वीरगन्ज महानगरपालिका वडा नं. १३ राधेमाई टोलस्थित कर्बगाह अगाडि पार्किङको विषयमा भएको झगडामा स्थानीय केपीचन्दा राउत बरईमाथि कुटपिट हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरीका अनुसार आज बिहान करिब ७:३० बजे वीरगन्ज महानगरपालिका वडा नं. २३ प्रसौनी निवासी ‘मुन्ना’ भनिने अर्जुन यादवले पार्किङको विषयमा विवाद बढेपछि बरईमाथि कुटपिट गरेका थिए। गम्भीर घाइते भएका बरईलाई उपचारका लागि वीरगन्जस्थित तराई अस्पताल लगिए पनि बिहान ७:४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार घटनामा संलग्न अर्जुन यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकको शव परीक्षणका लागि नारायणी अस्पताल, वीरगन्ज पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पोडकास्ट सुन्नुहोस