वीरगन्ज –
“रिमा यादव हाम्रा लागि लक्ष्मीको स्वरूप हुन्, उनलाई जिताउनु भनेको हाम्रो क्षेत्रको भाग्य बदल्नु हो,” वीरगञ्ज महानगरपालिका–२४ बहुअरीकी एक वृद्ध मतदाताले रिमा यादवको निधारमा अबिर लगाइदिँदै गर्दा माहोल निकै भावुक बनेको थियो।
भव्य स्वागत र सगुनको हर्ष नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की प्रतिनिधिसभा सदस्य उम्मेदवार रिमा कुमारी यादवको बुधबार बहुअरीमा भएको घरदैलो कार्यक्रम केवल चुनावी प्रचार मात्र रहेन, यो एउटा उत्सव जस्तै देखियो। घर-घरमा पुग्दा स्थानीयबासीले उहाँलाई फूलमाला र अबिरले स्वागत मात्र गरेनन्, सगुनको रूपमा दही र मिठाई खुवाएर जितको शुभकामना समेत दिए। मतदाताहरूमा देखिएको यो स्वतस्फूर्त उत्साहले बहुअरीमा एमालेको पक्षमा बलियो जनलहर रहेको प्रस्ट पारेको छ।
भाषण होइन, काममा विश्वास: रिमा यादव मतदाताको स्नेह र आत्मीयताबाट उत्साहित बन्नुभएकी यादवले टोल-टोलमा पुगेर स्थानीयका समस्या र गुनासाहरू नजिकबाट सुन्नुभयो। उहाँले भन्नुभयो, “म भाषणमा होइन, काममा विश्वास गर्छु। तपाईँहरूले दिनुभएको यो विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो। शिक्षा, स्वास्थ्य, सडक र खानेपानीका समस्या समाधान गर्न म सदनमा तपाईँहरूको आवाज बनेर पुग्नेछु।” उहाँले महिला सशक्तिकरण र रोजगारीका लागि ठोस योजनाका साथ आफू मैदानमा आएको बताउँदै आगामी फागुन २१ गते सूर्य चिन्हमा मतदान गरी विजयी गराउन अपील गर्नुभयो।
नेतृत्वको ऐक्यबद्धता र युवाहरूको साथ कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व मेयर विजय सरावगीले रिमा यादव जस्तो सुझबुझ पूर्ण नेतृत्वले मात्र यो क्षेत्रको इतिहास रच्न सक्ने बताउनुभयो। समानुपातिक उम्मेदवार बिचारी यादव, वडा अध्यक्षहरू विजय कुर्मी र अवधकिशोर कुशवाहाले बहुअरीको विकासका लागि एमालेको विकल्प नभएकोमा जोड दिनुभयो।
घरदैलोमा युवा नेताहरू मुकेश द्विवेदी, अजय साह, पिन्टु उपाध्याय, अमल यादव, प्रद्युम्न यादव, बिकी सिंह लगायत सयौँको संख्यामा उपस्थित समर्थकहरूको जोसले चुनावी सरगर्मीलाई थप उचाईमा पुर्याएको थियो।














