वीरगन्ज-
आसन्न निर्वाचनलाई लक्षित गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामनरेश यादवले आफ्नो चुनावी गतिविधिलाई तीव्र पार्नुभएको छ। यसै क्रममा आज वीरगन्ज महानगरपालिका वडा नम्बर ११ स्थित मुर्ली चोकमा जसपा नेपालको चुनावी जनसम्पर्क कार्यालय स्थापना गरिएको छ।
सम्पर्क कार्यालयको उद्घाटन जसपा नेपालका केन्द्रीय महासचिव तथा मधेस प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउतले गर्नुभएको हो। उद्घाटन पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता राउतले मधेसका उत्पीडित र पिछडिएका समुदायको हकहितका लागि जसपा सधैं अग्रपङ्क्तिमा लडिरहेको बताउनुभयो। उहाँले मधेसले हालसम्म प्राप्त गरेका उपलब्धिहरू जसपाकै नेतृत्व र बलिदानीपूर्ण आन्दोलनका कारण सम्भव भएको दाबी गर्नुभयो।
कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं जसपा पर्साका जिल्ला अध्यक्ष रामनरेश यादवले मधेसी अधिकारको सुरक्षा र थप अधिकार सुनिश्चित गर्न जसपालाई मतदान गर्न अपिल गर्नुभयो। उहाँले भन्नुभयो, “लामो समयदेखि ओझेलमा परेका मधेसका मुद्दाहरू सम्बोधन गर्न र संसद्मा मधेसको दह्रो आवाज बुलन्द गर्न यसपटक प्रतिनिधिसभामा जसपाको बलियो उपस्थिति अनिवार्य छ।”
जसपा महानगर अध्यक्ष घनश्यामबाबु गुप्ताका अनुसार चुनावी कार्यालय स्थापनासँगै स्थानीय मतदाताहरूमा ठूलो उत्साह देखिएको छ। मतदाताहरूले ‘छाता’ चिन्हलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरिरहेको उहाँले जानकारी दिनुभयो।
उद्घाटन कार्यक्रममा जसपा नेपालका केन्द्रीय सदस्यहरू शशिकपुर मियाँ, श्यामबाबु चौरसिया, सुधिरनाथ पाण्डे, रेखा साह, फीरोज मन्सुर, करिमा बेगम र मौलाना नुरुल होदाको उपस्थिति रहेको थियो।
त्यसैगरी जिल्ला सचिव रितेश गुप्ता, जिल्ला कार्यसमिति सदस्य सुनिल शर्मा, महानगर अध्यक्ष घनश्यामबाबु गुप्ता, पर्सा क्षेत्र नं. १ का क्षेत्रीय अध्यक्ष सुन्दर साह कानु, विद्यार्थी नेता सागीर अलि लगायतका नेता, कार्यकर्ता तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।













