२०८२ फाल्गुन ६ गते, बुधबार १९:१४

परिवर्तनका लागि जसपा नेपाललाई मतदान गरौँ : उम्मेदवार यादव

वीरगन्ज-

मधेस आन्दोलनको उर्वर भूमिका रूपमा चिनिने वीरगन्जको गहवामा आज जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो घरदैलो कार्यक्रम आयोजना गर्दै चुनाव प्रचार–प्रसार गरेको छ।

वीरगन्ज महानगरपालिका वडा नं. ८ गहवा र पानीटंकी टोलका बासिन्दाको घरआँगनमा पुगेका जसपा नेपालका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रामनरेश यादवले पार्टीको चुनाव चिन्ह ‘छाता’ मा मतदान गर्न आग्रह गर्नुभयो। उहाँले मधेस आन्दोलनमा गहवावासीले देखाएको साहस र दिएको योगदानको उच्च प्रशंसा गर्दै सकारात्मक परिवर्तनका लागि जसपा नेपाललाई मतदान गर्न अपिल गर्नुभयो।

घरदैलोपछि आयोजित कार्यक्रममा बोल्दै उम्मेदवार यादवले स्वास्थ्य, शिक्षा र रोजगारीको समस्या बढ्दै गएको उल्लेख गर्दै यी समस्याको समाधानका लागि जसपाको नेतृत्व अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो। बढ्दो महँगी, असुरक्षा र भ्रष्टाचारको जालो तोड्न जसपा नेपालको चुनाव चिन्ह ‘छाता’ मा मतदान गर्न उहाँले सबै मतदातालाई आग्रह गर्नुभयो।

मधेसीलाई पहिचान र सम्मान दिलाउन जसपा नेपालकै भूमिकाका कारण राज्यका विभिन्न अंगमा आरक्षण सुनिश्चित भएको स्मरण गराउँदै उम्मेदवार यादवले जसपा नेपाल विजयी भए मधेसका बाँकी मागसमेत सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आफू ३० वर्षदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक संस्थामा रहेर महिला सशक्तीकरण, गरिबी निवारण, स्वास्थ्य, शिक्षा र भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा काम गरेको अनुभव सुनाउँदै निर्वाचित भए पर्सा क्षेत्र नं. १ मा देखिएका स्वास्थ्य, शिक्षा र बेरोजगारीका समस्याको समाधान गर्ने आश्वासन दिनुभयो।

जसपाले आयोजना गरेको घरदैलो कार्यक्रममा पार्टीका महासचिव एवं मधेस प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउत गद्दी, केन्द्रीय सदस्य फिरोज मन्सुरी, श्यामबाबु चौरसिया, रेखा साह, बलिराम यादव, जसपा पर्सा क्षेत्र नं. १ का क्षेत्रीय अध्यक्ष सुन्दर साह कानु, नगर अध्यक्ष घनश्याम गुप्ता, रितेश गुप्ता लगायत नेता–कार्यकर्ता तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो। घरदैलोमा आएका उम्मेदवार यादवसँग भेट्दै मतदाताले मधेसलाई पहिचान र सम्मान दिने पार्टीका उम्मेदवारलाई मतदान गर्ने आश्वासन दिएको नगर अध्यक्ष गुप्ताले जानकारी दिनुभयो।

पोडकास्ट सुन्नुहोस