२०८३ आश्विन २५ गते, आईतवार ०९:२९

बूढीगण्डकीमा भीषण बाढी : तीन पुल बगायो, बस्तीमा लेदोसहितको पानी पस्दा उद्धारका लागि हेलिकप्टर परिचालन

काठमाडौं –

गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुईवटा झोलुङ्गे पुल र एउटा फलामे पुल बगाएको छ। बाढीले घर तथा बस्तीमा समेत क्षति पुर्‍याएपछि सम्भावित जोखिमबाट नागरिकलाई सुरक्षित राख्न उद्धार तथा राहतका लागि हेलिकप्टरसमेत परिचालन गरिएको छ।

प्रहरीका अनुसार बाढीले चुमनुब्री गाउँपालिका–३ स्थित न्याकचेत र सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल तथा धार्चे गाउँपालिका–५ को माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल बगाएको छ। त्यसैगरी, आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुलसमेत बाढीले बगाएको छ।

चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच पहिरो खसेर बूढीगण्डकी नदी थुनिएपछि एक्कासि आएको बाढीले आसपासका बस्तीमा क्षति पुर्‍याएको हो। बाढीका कारण चुमनुब्री गाउँपालिका–३, सिर्दिबासका रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको छ भने अर्को घरमा बाढी पसेको प्रहरीले जनाएको छ।

त्यस्तै, धार्चे गाउँपालिका–५ स्थित माछिखोलाको तल्लो बस्तीमा बाढी पसेपछि पाँचदेखि सातवटा घर र त्यति नै संख्यामा रहेका टहरामा क्षति पुगेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार घट्टेखोला क्षेत्रमा समेत केही घरमा लेदोसहितको पानी पसेको छ।

नदीको बहाव निरन्तर बढिरहेको र थप क्षति हुन सक्ने जोखिम रहेकाले नदी किनार तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र स्थानीय प्रशासनको समन्वयमा उद्धार तथा राहतका काम अघि बढाइएको छ। प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न हेलिकप्टरसमेत परिचालन गरिएको मन्त्रालयले जनाएको छ।

सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायले जारी गरेका निर्देशन पालना गर्न, नदीको बहाव हेर्न वा अवस्था बुझ्न नदी किनारमा नजान तथा आफ्नो सुरक्षालाई प्राथमिकता दिन नागरिकलाई आग्रह गरिएको छ।

आपत्कालीन अवस्थामा आवश्यक सहयोगका लागि गृह मन्त्रालयको हेल्पलाइन नम्बर १२३४ मा सम्पर्क गर्नसमेत आग्रह गरिएको छ।

बाढीबाट भएको क्षतिको पूर्ण विवरण तथा मानवीय क्षतिको अवस्थाबारे भने थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस