२०८३ आश्विन १९ गते, सोमबार ११:३२

फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सोमबार ५०० सम्म विद्यालय बन्द हुन सक्ने

काठमाडौं –

शिक्षक अभाव, खचाखच भरिएका कक्षाकोठा, जीर्ण विद्यालय भवन, लामो पठनपाठन समय र शिक्षामा बढ्दो असमानताको विरोधमा फ्रान्समा माध्यमिक तहका विद्यार्थीको आन्दोलन चर्किएको छ।

सेप्टेम्बर १७ मा पेरिसनजिकैबाट सुरु भएको आन्दोलन अहिले देशभर फैलिएको छ। विद्यार्थीहरूले विद्यालय बन्द, कक्षा बहिष्कार र धर्ना दिँदै शिक्षामा थप लगानी गर्न तथा पर्याप्त शिक्षकको व्यवस्था गर्न माग गरेका छन्।

आन्दोलनको अर्को कारण सरकारले सन् २०२७ को शिक्षा बजेटमा १ हजार ५८८ स्थायी शिक्षकको दरबन्दी कटौती गर्ने योजना अघि सारेको विषय हो। सरकारले विद्यार्थीको संख्या घट्दै गएकाले शिक्षकको दरबन्दी कटौती आवश्यक रहेको बताएको छ। तर, शिक्षक तथा विद्यार्थी संगठनहरूले शिक्षक अभाव भइरहेका बेला यस्तो निर्णय उचित नभएको बताएका छन्

आन्दोलनका क्रममा केही स्थानमा फोहोरका डब्बामा आगजनी, प्रहरीमाथि ढुंगा तथा पटाका प्रहार र तोडफोडका घटना भएका छन्। अक्टोबर २ सम्म करिब ४०० विद्यालय पूर्ण रूपमा बन्द र ५६० विद्यालय प्रभावित भएका थिए। सरकारका अनुसार २४ विद्यालय आगजनी वा तोडफोडबाट प्रभावित भएका छन् भने ७८ जना शिक्षा क्षेत्रका कर्मचारी घाइते भएका छन्।

सोमबार ४०० देखि ५०० विद्यालय पूर्ण वा आंशिक रूपमा बन्द हुन सक्ने अनुमान गरिएको छ। मंगलबार विद्यार्थी तथा ट्रेड युनियनहरूले राष्ट्रव्यापी प्रदर्शन र हडतालको तयारी गरेकाले आन्दोलन थप चर्किन सक्ने देखिएको छ।

विद्यार्थी आन्दोलनमा राजनीतिक हस्तक्षेप भएको आरोप लागे पनि आन्दोलनका मुख्य मुद्दा शिक्षक अभाव, विद्यालयको कमजोर भौतिक अवस्था र शिक्षामा बढ्दो असमानता रहेको बताइएको छ।सीएनएन

एजेन्सीको सहयोगमा

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस