२०८२ फाल्गुन ८ गते, शुक्रबार १४:१६

सर्लाही र धनुषामा मोटरसाइकल दुर्घटना : चार युवाको मृत्यु, दुई घाइते

वीरगन्ज-

मधेश प्रदेशका सर्लाही र धनुषा जिल्लामा मंगलबार साँझ भएको छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा चार युवाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।सर्लाहीको ईश्वरपुर नगरपालिका-१३ स्थित बाँके संग्रामपुर सडकखण्डमा भारतीय नम्बरका तीनवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवाको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार राति करिब ८ बजे भएको दुर्घटनामा हरीपुरवा नगरपालिका–९ मिर्चैयाका करिब ३० वर्षीय मुकेश राय र ३० वर्षीय रामज्ञान राय गम्भीर घाइते भएका थिए। अचेत अवस्थामा भेटिएका उनीहरूलाई मलंगवास्थित प्रादेशिक अस्पताल लगिए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा सोही स्थानका २२ वर्षीय विक्रम राय र रामविश्वास राय सामान्य घाइते भएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यस्तै, धनुषाधाम नगरपालिका-३ स्थित धनुष मन्दिर पूर्वको पुलबाट मोटरसाइकल खस्दा दुई युवकको घटनास्थलमै मृत्यु भएको छ। प्रदेश २-००७ प ६९४६ नम्बरको मोटरसाइकल मंगलबार साँझ करिब ८ बजे बालगंगा पुलबाट तल खसेको इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ। मृत्यु हुनेमा क्षीरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरका २५ वर्षीय रामभरोस ठाकुर र २८ वर्षीय दिनेश साह रहेका छन्। प्रारम्भिक अनुसन्धानमा मदिरा सेवनका कारण मोटरसाइकल अनियन्त्रित भएको हुन सक्ने आशंका गरिएको भए पनि परिवारजनले विपरीत दिशाबाट आएको सवारीले ठक्कर दिएको हुन सक्ने दाबी गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्।

दुवै घटनाले मधेश प्रदेशमा बढ्दो सवारी दुर्घटना र सडक सुरक्षाको अवस्थाबारे गम्भीर प्रश्न उठाएको छ। प्रहरीले दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको जनाएको छ।

पोडकास्ट सुन्नुहोस