वीरगन्ज-
वीरगन्ज महानगरपालिका वडा नं. २१ मा शुक्रबार पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रामनरेश यादवले घरदैलो अभियान सञ्चालन गर्दै मतदातासँग भेटघाट गर्नुभएको छ। उहाँले कोइरिया टोलका बासिन्दाको घरमै पुगेर मधेशी अधिकार र पहिचानको संरक्षणका लागि ‘छाता’ चुनाव चिह्नमा मतदान गर्न आग्रह गर्नुभयो।
घरदैलोका क्रममा स्थानीय मतदाताहरूले आधारभूत पूर्वाधारको अभावबारे गुनासो गरेका छन्। उनीहरूले जसपा नेपालका पूर्व नेता प्रदीप यादवलाई दुई पटक सांसद र राजेशमान सिंहलाई नगरप्रमुखमा निर्वाचित गरे पनि अहिलेसम्म सडक, नाला र फोहोर व्यवस्थापन जस्ता आधारभूत सुविधाबाट वञ्चित हुनुपरेको बताएका छन्।
“महानगरपालिकाका बासिन्दा भए पनि यहाँ न राम्रो सडक छ, न व्यवस्थित नाला, न त सरसफाइको उचित प्रबन्ध नै छ,” स्थानीयले गुनासो गर्दै भने। उनीहरूका अनुसार महानगरका केही सहरी क्षेत्रमा मात्र पूर्वाधार निर्माण भइरहेको छ भने ग्रामीण भेगलाई पूर्णतः बेवास्ता गरिएको छ। गर्मीयाममा धुलो र वर्षायाममा हिलो खेप्न बाध्य भएको उनीहरूको भनाइ छ।
घरदैलो अभियानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उम्मेदवार यादवले विगतमा पार्टीकै टिकटबाट निर्वाचित केही जनप्रतिनिधि व्यक्तिगत स्वार्थमा लागेर जनताको काम नगरेको दाबी गर्नुभयो। उहाँका अनुसार मतदाताहरूले स्वास्थ्य, शिक्षा र सडक पूर्वाधारका क्षेत्रमा अपेक्षित काम नभएको गुनासो गरिरहेका छन्।
ग्रामीण वडाहरूमा प्रचारका क्रममा विद्यालयमा गुणस्तरीय शिक्षण–सिकाइको अभाव, कतै शिक्षकको कमी त कतै विद्यार्थीको कमी जस्ता समस्या उठ्ने गरेको यादवले बताउनुभयो। उहाँले पूर्वमन्त्रीको आफ्नै गाउँमा समेत विद्यार्थीभन्दा शिक्षक बढी रहेको अवस्था देखिएको जानकारी साझा गर्नुभयो।
उम्मेदवार यादवले विगत १० वर्षमा कामभन्दा गफ बढी भएको आरोप लगाउँदै यसपटक परिवर्तनका लागि ‘छाता’ चिह्नमा मतदान गर्न अपिल गर्नुभयो।
कार्यक्रममा पार्टीका महासचिव एवं मधेश प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउत गद्दी, केन्द्रीय सदस्य फिरोज मन्सुरी, श्यामबाबु चौरसिया, रेखा साह, बलिराम यादव, जसपा पर्सा क्षेत्र नं. १ का क्षेत्रीय अध्यक्ष सुन्दर साह कानु, नगर अध्यक्ष घनश्याम गुप्ता, रितेश गुप्ता लगायत नेता–कार्यकर्ता तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।













