२०८२ फाल्गुन १३ गते, बुधबार ०९:२२

वीरगन्जबाट चितवन जाँदै गरेको बस मनहरीमा दुर्घटना, २२ जना यात्रु घाइते

हेटौंडा –

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनास्थित सडक खण्डमा आइतबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बा प्र ०६–००१ ख ००५४ नम्बरको बस बिहान करिब ७ बजे अनियन्त्रित भई सडकको बायाँ किनारमा रहेको विद्युत्‌को पोलमा ठोक्किएको थियो । दुर्घटनामा बसमा सवार २२ जना यात्रु सामान्यदेखि मध्यम घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उद्धार र उपचार दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक दीपक थापाको नेतृत्वमा खटिएको १६ जनाको टोलीले घाइतेहरूको उद्धार गरेको थियो । घाइते सबैलाई तत्कालै थप उपचारका लागि चितवनतर्फ पठाइएको मकवानपुरका प्रहरी नायब उपरीक्षक (DSP) पुस्कर बोगटीले जानकारी दिनुभयो ।

दुर्घटनास्थल इलाका प्रहरी कार्यालय मनहरीबाट करिब १ किलोमिटर पश्चिममा पर्दछ । दुर्घटनाग्रस्त बस सडक किनारमै रहेकाले राजमार्गमा सवारी आवागमन भने अवरुद्ध नभएको प्रहरीले जनाएको छ । बस अनियन्त्रित हुनुको कारणबारे थप अनुसन्धान भइरहेको छ

पोडकास्ट सुन्नुहोस