२०८२ फाल्गुन १७ गते, आईतवार १५:४६

महानगरपालिकाको वाहन प्रयोग गरी राजश्व छलिहुदै (भिडियो सहित)

वीरगन्ज-

वीरगन्ज महानगरपालिकाको सवारी साधन प्रयोग गरी राजश्व छली गरिएको आरोप सार्वजनिक भएको छ। महानगरपालिकाको नगर प्रहरीले प्रयोग गर्ने सेतो नम्बर प्लेटको ना.१ ग ७१३ नम्बरको सवारी साधन राजश्व नतिरी सामान भित्र्याउन प्रयोग गरिएको दाबी गरिएको छ।

गत शुक्रबार (फागुन १५ गते) वीरगन्जको सीमावर्ती भारतीय सहर रक्सौलबाट उक्त सवारी साधनमार्फत लाखौँ मूल्य बराबरका भाँडा–बर्तन राजश्व नतिरी वीरगन्ज भित्र्याइएको प्रत्यक्षदर्शीहरूको भनाइ छ। सवारी साधनमा एल्युमिनियमका ठूला डेक, फलामका ठूला कढाइ, एल्युमिनियमका डेगची लगायतका दर्जनौँ सामग्री लोड गरिएको बताइएको छ।

उक्त सवारी साधनमा वीरगन्ज महानगरपालिकाको चौथो तहमा कार्यरत जिन्सी फाँटका कर्मचारी मन्दिप यादव समेत सवार रहेको स्रोतको दाबी छ। शुक्रबार अपराह्न मितेरी पुलबाट वीरगन्ज प्रवेश गरेको सरकारी सवारीमा लोड गरिएका सामग्रीको राजश्व नतिरी नगरभित्र ल्याइएको आरोप लगाइएको छ।

प्रत्यक्षदर्शीका अनुसार भन्सार क्षेत्रको ड्युटीमा खटिएका सुरक्षाकर्मीबाट समेत सहयोग भएको आशंका गरिएको छ। यद्यपि, यस विषयमा सम्बन्धित निकायबाट आधिकारिक पुष्टि हुन बाँकी छ।

यस सम्बन्धमा वीरगन्ज महानगरपालिकाका नगरप्रहरी प्रमुख हरि भूषालसँग जिज्ञासा राख्दा उनले भाँडा–बर्तन रक्सौलबाटै खरिद गरिएको भए पनि मितेरी पुल हुँदै कर्मचारी मन्दिप यादवले ल्याएको जानकारी आफूलाई प्राप्त भएको बताए।

महानगरपालिकाका सूचना अधिकारी सुनिल कर्णले भने महानगरपालिकाले रक्सौलबाट भाँडा–बर्तन खरिद गरेको विषयमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए। उनले नगरप्रहरीले प्रयोग गर्ने सवारी साधनले भाँडा बोकेर आएको जानकारी भए पनि ती सामग्री कुन प्रयोजनका लागि ल्याइएको हो भन्नेबारे स्पष्ट जानकारी नभएको बताए।

नगरप्रहरी प्रमुख भूषालका अनुसार यस विषयमा विस्तृत जानकारी महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहसँग हुन सक्ने बताएका छन्।

उक्त घटनाबारे थप बुझ्न महानगरपालिकामा कार्यरत मनजितसँग फोनमार्फत सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्। स्रोतका अनुसार मनजित नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार प्रदीप यादवका भाइ हुन्।

महानगरपालिकाको स्रोतले चुनावी प्रतिस्पर्धाको सन्दर्भमा मतदातालाई प्रभावित पार्ने उद्देश्यले सरकारी सवारी साधनको दुरुपयोग गरिएको हुन सक्ने दाबी गरेको छ। प्रत्यक्षदर्शीले उपलब्ध गराएको भनिएको भिडियोमा सरकारी सवारी साधनमा सामान लोड गरी वीरगन्ज ल्याइएको दृश्य देखिएको दाबी गरिएको छ।

यस प्रकरणबारे सम्बन्धित निकायबाट छानबिन भई सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग स्थानीयस्तरमा उठ्न थालेको छ।

पोडकास्ट सुन्नुहोस