२०८२ फाल्गुन १८ गते, सोमबार १८:२६

युवा नेता सुमित चौरसियासहित दुई सयभन्दा बढी रास्वपामा प्रवेश

वीरगन्ज-

प्रतिनिधिसभा निर्वाचनको संघारमा पर्साको राजनीतिमा ठूलो उलटफेर भएको छ। जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रभावशाली युवा नेता सुमित चौरसियाको नेतृत्वमा झण्डै २०० जना युवाहरू रास्वपामा प्रवेश गरेसँगै जिल्लाको राजनीतिक वृत्तमा हलचल मच्चिएको हो।

वीरगन्जमा आयोजित एक विशेष कार्यक्रमका बीच पर्सा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार हरि पन्तले नवप्रवेशीहरूलाई फूलमाला र टीका लगाएर पार्टीमा स्वागत गर्नुभयो। स्वागत मन्तव्य व्यक्त गर्दै पन्तले युवाहरूको यो लहरले आगामी निर्वाचनमा रास्वपाको दुई–तिहाई बहुमत सुनिश्चित गरेको दाबी गर्नुभयो। “जनता पुराना तीन दलबाट आजित भइसकेका छन्, रास्वपा नै अबको निर्विकल्प शक्ति हो,” उहाँले भन्नुभयो।

पार्टी प्रवेश गर्दै युवा नेता सुमित चौरसियाले जसपा नेपालले सत्ताको लोभमा मधेसी जनताको मुद्दामा सम्झौता गरेको र ठूला दलसँग मिलेर भ्रष्टाचारलाई प्रश्रय दिएको आरोप लगाउनुभयो। उहाँले भन्नुभयो, “देशमा सुशासन स्थापित गर्न र बेथिति अन्त्य गर्न रास्वपा बाहेक अर्को विकल्प नदेखेर हामीले यो निर्णय लिएका हौँ।” चौरसियाले पछिल्लो समयको आन्दोलनमा युवाहरूको हत्या भएको प्रसंग उठाउँदै पुराना दलहरूलाई अब मतदान गर्न नसकिने स्पष्ट पार्नुभयो।

चौरसियासँगै विकास कुशवाहा, सुनिल अहमद, सुनिल माली, हिमांशु गुप्ता, धीरज रौनियार, सौरभ गुप्ता, राजेश राउत, ओमनाथ चौरसिया र अर्बाज अहमद लगायतका युवाहरू रास्वपामा समाहित भएका छन्। नवप्रवेशी विकास कुशवाहाले देशको आमूल परिवर्तनका लागि आफूहरूले जसपा त्यागेको बताउनुभयो।

रास्वपा क्षेत्र नम्बर १ का सभापति राम आर्यले नवप्रवेशीहरूलाई पार्टीमा उचित जिम्मेवारी र मूल्याङ्कन गरिने प्रतिबद्धता जनाउनुभयो। उहाँले पुराना दलहरूको सिन्डिकेट तोड्न जनता परिवर्तनको पक्षमा उभिएको उल्लेख गर्नुभयो। निर्वाचनको मुखमा यति ठूलो संख्यामा युवाहरूको दल परिवर्तनले पर्सा क्षेत्र नम्बर १ को चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।

पोडकास्ट सुन्नुहोस