काठमाडौं-
बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले अमेरिका–इजरायलद्वारा इरानमाथि गरिएको संयुक्त आक्रमणमा बेलायत प्रत्यक्ष रूपमा सहभागी नभएको दोहो¥याउँदै इरानी मिसाइल खतरालाई रोक्न “विशेष र सीमित रक्षात्मक उद्देश्य”का लागि अमेरिकालाई बेलायती सैन्य आधार प्रयोग गर्न अनुमति दिने बताएका छन् ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले ‘अपरेसन रोअरिङ लायन÷अपरेसन एपिक फ्युरी’ नाम दिइएको संयुक्त मिसाइल आक्रमण गरेपछि खाडी क्षेत्रमा तनाव चुलिएको छ । उक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी सरकारी सञ्चारमाध्यमले पुष्टि गरेका छन् । आक्रमणमा खामेनीका छोरी, नाति÷नातिनी, बुहारी र ज्वाइँ पनि मारिएको दाबी गरिएको छ ।
स्टार्मरले सामाजिक सञ्जाल ‘एक्स’मा भिडियो सन्देश जारी गर्दै भने,“बेलायत इरानमाथिको आक्रमणमा संलग्न थिएन र अहिले पनि आक्रामक कारबाहीमा सहभागी हुँदैन ।” तर उनले पछिल्ला दुई दिनमा इरानले आफूलाई आक्रमण नगरेका मुलुकहरूमा समेत निरन्तर आक्रमण गरेको आरोप लगाए ।
उनका अनुसार इरानले बेलायती नागरिक बसिरहेका विमानस्थल र होटलहरूमा प्रहार गरेको छ । “खाडी क्षेत्रमा कम्तीमा दुई लाख बेलायती नागरिक रहेका छन् । स्थायी बासिन्दा, बिदामा गएका परिवार र ट्रान्जिटमा रहेका यात्रुहरू,” उनले भने । उनले सबैलाई आफ्नो उपस्थिति दर्ता गर्न र परराष्ट्र कार्यालयको यात्रा परामर्श पालना गर्न आग्रह गरेका छन् । स्टार्मरले खाडी क्षेत्रमा तैनाथ बेलायती सैनिकहरू पनि जोखिममा परेको बताए । “हिजो इरानले बहराइनस्थित एक सैन्य अड्डामा प्रहार ग¥यो, जहाँ बेलायती सैनिकहरू बालबाल बच्न सफल भए,” उनले भने ।
इरानमा नेतृत्व परिवर्तन भए पनि खतरा नरोकिने चेतावनी दिँदै उनले भने, “सर्वोच्च नेताको मृत्युले इरानलाई यी आक्रमण रोक्न बाध्य पार्दैन । उनीहरूको रणनीति झन् लापरवाह र नागरिकका लागि खतरनाक बन्दै गएको छ ।”
बेलायतले वार्तामार्फत समाधान खोज्नुपर्ने धारणा दोहो¥याउँदै स्टार्मरले भने, “हामी विश्वास गर्छौं कि क्षेत्रीय र विश्व शान्तिका लागि वार्तामूलक समाधान नै उत्तम बाटो हो, जसमा इरानले आणविक हतियार विकास गर्ने आकांक्षा त्याग्न सहमत होस् ।”
यद्यपि, उनले इरानले बेलायती स्वार्थ र नागरिकमाथि खतरा उत्पन्न गरेकाले मित्र राष्ट्रहरूको सामूहिक आत्मरक्षाका लागि सहयोग गर्नु कर्तव्य भएको बताए । “अमेरिकाले मिसाइल भण्डारण स्थल वा प्रक्षेपण केन्द्रहरू नष्ट गर्न सीमित रक्षात्मक उद्देश्यका लागि बेलायती आधार प्रयोग गर्न अनुमति मागेको छ, र हामीले त्यो स्वीकार गरेका छौं,” उनले स्पष्ट पारे ।
उनका अनुसार बेलायती लडाकु विमानहरू खाडी क्षेत्रमा समन्वित रक्षात्मक अभियानमा संलग्न भइसकेका छन् र केही इरानी प्रहारहरू सफलतापूर्वक निष्क्रिय पारिसकेका छन् ।
स्टार्मरले इराक युद्धका अनुभव सम्झाउँदै भने, “हामीले इराकका गल्तीहरूबाट पाठ सिकेका छौं । हामी प्रारम्भिक आक्रमणमा संलग्न थिएनौं र अहिले पनि आक्रामक कारबाहीमा सहभागी हुने छैनौं ।” उनले यो निर्णय अन्तर्राष्ट्रिय कानुनअनुसार भएको र कानुनी सल्लाहको सार सार्वजनिक गरिने जानकारी दिए ।
खाडी क्षेत्रमा बढ्दो द्वन्द्वले अन्तर्राष्ट्रिय समुदायलाई चिन्तित बनाएको छ भने क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्दै गएको । एएनआई














