वीरगन्ज-
लालबाबु राउतले उत्पीडित, पछाडि पारिएका तथा अधिकारबाट वञ्चित समुदायका लागि निरन्तर संघर्ष गर्दै आएको जनता समाजवादी पार्टी नेपालको चुनाव चिन्ह ‘छाता’मा मतदान गर्न अपिल गर्नुभएको छ।
वीरगन्ज महानगरपालिका–१६, नगवामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले मधेसी समुदायको पहिचान, अधिकार र राज्यका सम्पूर्ण अंगमा समान सहभागिता सुनिश्चित गर्न आरक्षणको व्यवस्था गराउन जसपा नेपालले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। उहाँले पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामनरेश यादवलाई विजयी बनाउन छाता छापमा मतदान गर्न आग्रह गर्नुभयो।
सभामा बोल्दै राउतले जसपाका उम्मेदवार अन्य दलका तुलनामा इमान्दार र प्रतिबद्ध रहेको दाबी गर्नुभयो। उहाँले केही उम्मेदवार शहीदको सपना बेचेर फेरि मन्त्री वा सांसद बन्न खोजेको आरोप लगाउँदै जसपाले भने मधेसी अधिकारका लागि निरन्तर संघर्ष गर्ने व्यक्तिलाई उम्मेदवार बनाएको बताउनुभयो।
उहाँले जसपाकै टिकटबाट दुई पटक सांसद र तीन पटक मन्त्री बनेका व्यक्ति स्वार्थका लागि यसपटक मधेसविरोधी दलबाट चुनाव लडिरहेको टिप्पणी गर्दै त्यस्ता उम्मेदवारलाई मत दिनु मधेसी शहीदको अपमान हुने बताउनुभयो। पार्टी फुटाउने र पटक–पटक दल परिवर्तन गर्ने नेताले जनताको विश्वास जित्न नसक्ने भन्दै मतदातालाई भ्रम र लालचबाट सचेत रहन आग्रह गर्नुभयो।
राउतले केही स्थानमा मधेसी संघर्षका झुटा कथा रचेर तथा कतै विकासका नाममा भ्रम फैलाएर मतदातालाई प्रभाव पार्ने प्रयास भइरहेको आरोप लगाउँदै त्यस्ता गतिविधिबाट सचेत भई मधेस र मधेसीको अधिकारका लागि काम गर्ने जसपालाई समर्थन गर्न अपिल गर्नुभयो।
कार्यक्रममा बोल्दै उम्मेदवार रामनरेश यादवले मधेसी जनताको मुक्ति, पहिचान र अधिकारका लागि सडकमा उत्रेर संघर्ष गर्ने पार्टी जसपा नै भएको दाबी गर्नुभयो। उहाँले मधेसी आन्दोलनलाई कमजोर पार्ने र मधेसविरोधी दलबाट उम्मेदवार बन्ने व्यक्ति मधेसी हितैषी हुन नसक्ने जिकिर गर्नुभयो।
यादवले मधेस प्रदेशको नेतृत्व जसपाले गर्दा इनरुवा क्षेत्रमा सडक, नाला, बिजुली बत्ती लगायतका पूर्वाधार निर्माण भएको उल्लेख गर्दै आफू निर्वाचित भए बाँकी विकास कार्यलाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले मधेसीको अधिकार सुनिश्चित गर्न तथा जनताको विकासका लागि काम गर्ने उम्मेदवारलाई मत दिन सबै मतदातासँग आग्रह गर्नुभयो।













