वीरगन्ज-
वीरगन्जमा सामाजिक सद्भाव खलबलाएर प्रतिनिधि सभा निर्वाचन विथोल्ने षडयन्त्रलाई पर्सा प्रहरीले पर्दाफास गरेको छ। धार्मिक स्थलहरूमा सुँगुरको टाउको राखी सुतली बम विष्फोट गराउने योजनामा संलग्न रहेको आरोपमा प्रहरीले गएराति वीरगन्ज महानगरपालिका वडा नं. १६, इनर्वाबाट तीन जनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख सुदीपराज पाठकका अनुसार, सामाजिक सद्भाव बिगार्ने र निर्वाचन बिथोल्ने षडयन्त्र भइरहेको पूर्व सूचनाका आधारमा प्रहरीले इनर्वामा छापा मारेको थियो। उक्त कारबाहीका क्रममा ९ थान सुतली बम, एक थान सुँगुरको टाउको र १० मिटर तार बरामद भएपछि घटनास्थलबाटै तीन जनालाई नियन्त्रणमा लिइएको हो।
बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख पाठकले पक्राउ परेका व्यक्तिहरूलाई हिरासतमा राखी अनुसन्धान भइरहेको जानकारी दिनुभयो। यस घटनामा अन्य व्यक्तिहरूको समेत संलग्नता हुन सक्ने सम्भावना रहेकाले हाल पक्राउ परेकाहरूको परिचय औपचारिक रूपमा गोप्य राखिएको छ।
स्रोतका अनुसार, प्रहरीले वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहका निकटका मानिने मदन यादवको घरमा छापा मारेको थियो। पक्राउ पर्नेहरूमा मदन यादवका छोरा अमन यादव, नाति कृष्ण यादव र अर्का एक व्यक्ति रोहित पटेल रहेका छन्।
नगर प्रमुख सिंह र उनी आबद्ध राजनीतिक दलका तर्फबाट पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवारले चुनाव हार्ने डरले यस्तो अशान्ति मच्चाउने योजना बुनेको स्रोतको दाबी छ। ती उम्मेदवार पटक-पटक पार्टी परिवर्तन गरेको र ‘अवसरवादी’को छवि बनेका कारण मतदाताको साथ नपाउने देखिएपछि यस्तो षडयन्त्र रचिएको आशंका गरिएको छ।
प्रारम्भिक अनुसन्धानका अनुसार, वीरगन्जका वडा नं. २, ११ र १२ लगायतका संवेदनशील स्थानमा रहेका धार्मिक स्थलहरूमा बम विष्फोट गराउने र सुँगुरको टाउको फालेर धार्मिक दङ्गा भड्काउने योजना बनाइएको थियो। यस्तो कार्यमा राजनीतिक कार्यकर्ता मात्र नभई केही धार्मिक सङ्गठनका अगुवाहरूलाई समेत मुछ्ने रणनीति रहेको बुझिएको छ।
प्रतिनिधि सभा निर्वाचन हुन २४ घण्टाभन्दा कम समय बाँकी रहँदा देखिएको यस्तो उच्छृङ्खल गतिविधिप्रति प्रहरीले कडा निगरानी बढाएको छ। संवेदनशील क्षेत्रहरूमा सादा पोसाकका प्रहरी परिचालन गर्नुका साथै स्थानीय बासिन्दाहरूलाई समेत सचेत रहन आग्रह गरिएको छ।













