वीरगन्ज –
पर्सा जिल्लामा कडा सुरक्षा व्यवस्थाका बीच प्रतिनिधि सभा सदस्य पदका लागि भइरहेको मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ। आज बिहान ७ बजेदेखि सुरु भएको मतदानमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ।
चार निर्वाचन क्षेत्र रहेको पर्सा जिल्लामा अपराह्न साढे तीन बजेसम्म ४९ प्रतिशत मतदान सम्पन्न भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार उक्त समयसम्म १ लाख ८२ हजार ३ सय ६ मत खसेको छ।
पर्सा जिल्लामा कुल ३ लाख ७६ हजार ५ सय १३ मतदाता रहेका छन्। तीमध्ये १ लाख ६४ हजार ४ सय २१ महिला, २ लाख १२ हजार ७७ पुरुष र १५ जना अन्य मतदाता रहेका छन्।
जिल्ला निर्वाचन अधिकारी अनामिका रौनियारका अनुसार पर्साका चारवटै निर्वाचन क्षेत्रमा रहेका १ सय ६७ मतदान स्थल र ४ सय ४१ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ।
उहाँले मतदानको समय अवधिभर मतदाताको सहभागिता बढ्ने अपेक्षा गर्दै पर्सामा कुल मतदान ६० प्रतिशतभन्दा बढी पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।













