२०८२ फाल्गुन २२ गते, शुक्रबार १२:४३

मोरङका ५ क्षेत्रमा रास्वपा अगाडि, एक क्षेत्रमा श्रम संस्कृति पार्टीको अग्रता

विराटनगर-

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मोरङ जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ। हालसम्मको मतपरिणाम अनुसार पाँच क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता बनाएका छन् भने एक क्षेत्रमा श्रम संस्कृति पार्टीका उम्मेदवार अगाडि छन्।

मोरङ क्षेत्र नं. ६ मा रास्वपाकी उम्मेदवार रूविना आचार्यले अग्रता लिएकी छन्। ५ हजार ७३४ मत गणना हुँदा उनले ३ हजार ४२३ मत प्राप्त गरेकी छन्। उनलाई नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला ७२८ मतसहित पछ्याइरहेका छन् भने नेकपा (एमाले) का उम्मेदवार विनोद ढकाल ६२७ मतसहित तेस्रो स्थानमा छन्।

क्षेत्र नं. ५ मा रास्वपाकी उम्मेदवार आशा झाले ३ हजार ९७९ मतसहित अग्रता बनाएकी छन्। उनलाई जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राजकुमार यादवले १ हजार ३६६ मतसहित पछ्याइरहेका छन् भने नेकपा का उम्मेदवार शिवकुमार मण्डल १ हजार २८६ मतसहित तेस्रो स्थानमा छन्।

त्यस्तै क्षेत्र नं. ४ मा रास्वपाका उम्मेदवार सन्तोष राजवंशीले ११ हजार ५६४ मतसहित अग्रता बनाएका छन्। उनलाई नेपाली कांग्रेसका गुरुराज घिमिरेले २ हजार ६४८ मतसहित पछ्याइरहेका छन्।

क्षेत्र नं. ३ मा भने श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगर ५५४ मतसहित अगाडि छन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले ३३६ मतसहित पछ्याइरहेका छन् भने रास्वपाका उम्मेदवार गणेश कार्की २९५ मतसहित तेस्रो स्थानमा छन्।

मोरङ क्षेत्र नं. २ मा रास्वपाका उम्मेदवार कृष्ण कार्कीले १ हजार १६७ मतसहित अग्रता बनाएका छन्। उनलाई नेकपा (एमाले) का उम्मेदवार दिलीपकुमार अग्रवाल ४४५ मतसहित र नेपाली कांग्रेसका उम्मेदवार मिनेन्द्रप्रसाद रिजाल ३६७ मतसहित पछ्याइरहेका छन्।

त्यसैगरी क्षेत्र नं. १ मा रास्वपाका उम्मेदवार यज्ञमणी न्यौपानेले ४ हजार १२६ मतसहित अग्रता लिएका छन्। उनलाई श्रम संस्कृति पार्टीकी उम्मेदवार शान्ति पाख्रिनले २ हजार ८१४ मतसहित पछ्याइरहेकी छन्।

मोरङका सबै निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ र अन्तिम परिणाम आउन अझै समय लाग्ने निर्वाचन अधिकारीहरूले बताएका छन्।

पोडकास्ट सुन्नुहोस