दमक-
एमालेको ‘अजेय गढ’ मानिने झापा निर्वाचन क्षेत्र नम्बर ५ मा यसपटक राजनीतिक भूकम्प गएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार वालेन (बालेन) शाहले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भारी मतान्तरले पछि पार्दै ऐतिहासिक जिततर्फ पाइला बढाएका छन्।
अग्रातको अंकगणित: बालेन ३४ हजार, ओली ९ हजार पछिल्लो आधिकारिक विवरण अनुसार ५२ हजार २०७ मत गणना हुँदा बालेन शाहले ३४ हजार ८६३ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका एमाले अध्यक्ष ओलीले मात्र ९ हजार ६८ मत पाएका छन्। अहिले बालेन र ओलीबीचको मतान्तर २५ हजार ७९५ पुगेको छ।
कुल खसेको १ लाख ६ हजार ५६८ मतमध्ये झण्डै आधा गणना भइसक्दा बालेनले बनाएको यो अग्रतालाई राजनीतिक विश्लेषकहरूले ‘निर्णायक’ मानेका छन्।
काठमाडौँको मेयरदेखि झापाको मैदानसम्म काठमाडौँ महानगरको मेयर पदबाट राजीनामा दिएर रास्वपामा प्रवेश गरी ‘भावी प्रधानमन्त्री’ को एजेन्डासहित झापा झरेका बालेनको यो उदयले राष्ट्रिय राजनीतिमा ठूलो हलचल ल्याएको छ। एमालेको बलियो संगठन भएको क्षेत्रमा बालेनले सुरुवाती चरणदेखि नै एकतर्फी अग्रता लिइरहनुले मतदाताको तीव्र परिवर्तनको चाहनालाई दर्शाएको छ।
कार्यकर्तामा उत्साह र सन्नाटा अहिले दमक र गौरादह क्षेत्रमा बालेनका समर्थकहरूले ‘घण्टी’ बजाएर खुसीयाली मनाउन सुरु गरिसकेका छन्। अर्कोतर्फ, आफ्ना सुप्रिमो नै भारी मतान्तरले पछि परेपछि एमाले वृत्तमा भने सन्नाटा छाएको छ। बाँकी रहेको मत गणना भइरहँदा बालेनको अग्रता झन् बढ्दै जाने संकेत देखिएको छ।













