२०८२ फाल्गुन २३ गते, शनिबार १३:३८

वीरगन्जमा रास्वपाको उदय: १४ हजार बढी मतान्तरले प्रदीप यादवलाई पछार्दै हरि पन्त निर्वाचित

वीरगन्ज-

पर्सा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बुद्धिप्रसाद पन्त (हरि पन्त) भारी मतान्तरका साथ विजयी भएका छन्। पुराना र स्थापित राजनीतिक शक्तिहरूलाई स्तब्ध पार्दै पन्तले सानदार जित दर्ता गरेका हुन्।

मतान्तरको अंकगणित: १४ हजारभन्दा बढीको अग्रता  निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार रास्वपाका हरि पन्तले २७ हजार २ सय ७४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रदीप यादवले १३ हजार ३० मत मात्र प्राप्त गरे। पन्तले यादवलाई १४ हजार २४४ को भारी मतान्तरले पराजित गरेका हुन्।

यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंग्टाले ११ हजार ८८५ मत प्राप्त गरी तेस्रो स्थानमा चित्त बुझाएका छन्।

 पर्सा क्षेत्र नम्बर १ मा कुल ८९ हजार ६ सय ३८ मतदाता रहेकोमा ६१ हजार ३ सय ६ मत खसेको थियो। खसेको मतको ठूलो हिस्सा रास्वपाको पक्षमा खसेपछि वीरगन्जको राजनीतिमा नयाँ शक्तिले आफ्नो बलियो उपस्थिति प्रमाणित गरेको छ।

लामो समयदेखि पर्साको राजनीतिमा दबदबा राख्दै आएका प्रदीप यादवको पराजय र नयाँ अनुहारका रूपमा उदाएका पन्तको विजयलाई धेरैले ‘परिवर्तनको पक्षमा जनमत’ भनेर टिप्पणी गरेका छन्। पन्त विजयी भएलगत्तै वीरगन्जका विभिन्न स्थानमा रास्वपाका कार्यकर्ता र समर्थकहरूले विजय जुलुस निकाल्ने तयारी गरेका छन्।

पोडकास्ट सुन्नुहोस