२०८२ चैत्र ४ गते, बुधबार ०७:४६

हावाहुरीको वितण्डास् रौतहटमा पकेट क्षेत्रकै मकै बाली सखाप, किसान मर्कामा

रौतहट –

सोमबार बेलुका आएको विनाशकारी हावाहुरीले रौतहटका विभिन्न स्थानमा लगाइएको मकै बालीमा व्यापक क्षति पु¥याएको छ । घोगा लाग्ने बेलाको मकै बोटै ढलेर सोत्तर भएपछि यहाँका किसानहरू निकै चिन्तित बनेका छन् ।

विशेष गरी जिल्लाको मकै पकेट क्षेत्र मानिने चन्द्रपुर, गुजरा र बृदावन नगरपालिकामा हुरीले बढी क्षति गरेको छ । सोमबार बेलुका करिब १० मिनेटसम्म चलेको तीव्र गतिको हावाहुरीले खेतमा हरियाली छाएको मकै बालीलाई क्षणभरमै काम नलाग्ने गरी ढालेको हो ।

चन्द्रपुर नगरपालिका वडा नं. २ का पीडित किसान सुब्बा कार्कीले यस वर्ष मकैबाट राम्रो आम्दानी हुने आशा राखेका थिए। तर हुरीले सपना चकनाचुर पारेको उनी बताउँछन् । ‘महँगो मल, सिँचाई र कामदारमा ठुलो खर्च गरेर बाली हुर्काइयो, तर १० मिनेटको हुरीले सबै मिहिनेत खेर फालिदियो,’ कार्कीले दुखेसो पोखे ।

उनका अनुसार हावाहुरी निकै तीव्र भए पनि वर्षा नहुँदा मकैका बोटहरू भाँचिने र उखेलिने क्रम बढी भएको हो । मकैबाहेक आँप र लिचीमा लागेका बतिला (मजुर) समेत हुरीले झारिदिएपछि फलफूल खेती गर्ने किसानलाई पनि उत्तिकै मार परेको छ। चन्द्पुर नगरपालिका वडा न । ३ र ४ का किसानले लगाएको केरा खेतीमा पनि हावाहुरीले उतिकै क्षति गरेको छ ।

हुरीको प्रभाव कृषिमा मात्र सीमित रहेन। जिल्लाका विभिन्न स्थानमा कच्ची घरका छानो, खपडा, टाली र जस्तापाताहरू समेत उडाएको स्थानीयले बताएका छन् । यसले सर्वसाधारणको जनजीवन समेत प्रभावित बनाएको छ ।

कृषि ज्ञान केन्द्र रौतहटका अनुसार हावाहुरीबाट भएको क्षतिको यकिन विवरण संकलन गर्ने जिम्मा सम्बन्धित स्थानीय तहका कृषि शाखालाई दिइएको छ । ‘हावाहुरीले मकै बालीमा पु¥याएको क्षतिको विवरण पालिकाहरूले संकलन गर्नेछन् र सोही आधारमा राहत तथा क्षतिपूर्तिका लागि प्रक्रिया अगाडि बढ्नेछ,’ केन्द्रले जनाएको छ ।

मकै खेतीलाई मुख्य आयस्रोत मान्ने रौतहटका किसानहरू अहिले बारीमा ढलेका बोट हेरेर बिलौना गरिरहेका छन्। लागत समेत नउठ्ने अवस्था आएपछि उनीहरूले सरकारसँग उचित क्षतिपूर्तिको माग गरेका छन्।

पोडकास्ट सुन्नुहोस