२०८२ चैत्र ५ गते, बिहीबार ०९:५८

पराजयको धक्का: कांग्रेस सभापति गगन थापाको राजीनामा

काठमाडौं –

प्रतिनिधिसभा निर्वाचनमा अप्रत्याशित पराजय बेहोरेपछि नेपाली कांग्रेसका सभापति गगन थापा ले अन्ततः पदबाट राजीनामा दिएका छन्। चुनावी हारको नैतिक जिम्मेवारी लिँदै उनले बुधबार उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा बुझाएका हुन्।

लामो समयदेखि काठमाडौं–४ बाट विजयी हुँदै आएका थापा यसपटक सर्लाही-४ बाट चुनावी मैदानमा उत्रिएका थिए। तर, उनको राजनीतिक यात्रा यसपटक रोकियो, जब डा अमरेशकुमार सिंह (रास्वपा) ले उनलाई स्पष्ट मतान्तरले पराजित गरे।

यस चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जबरजस्त उभार देखियो झन्डै दुई तिहाइ सिट जित्दै उसले देशको राजनीतिक समीकरण नै उल्टाइदियो। दोस्रो स्थानमा सीमित कांग्रेस भने प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी जम्मा ३८ सिटमा खुम्चिन बाध्य भयो।

चुनावी परिणाम सार्वजनिक भएसँगै थापामाथि राजीनामाको दबाब बढ्दै गएको थियो। यद्यपि, पार्टीभित्रका विभिन्न तहका नेताहरूले उनलाई पदमै रहन आग्रह गरे पनि अन्ततः उनले जिम्मेवारीबाट पछि हट्ने निर्णय गरे।

उल्लेखनीय छ, थापा हालै सम्पन्न विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा सभापतिमा निर्वाचित भएका थिए। तर, निर्वाचनको नतिजाले उनको नेतृत्वमाथि गम्भीर प्रश्न उठाएपछि उनले यो कदम चालेका हुन्।

अब उनको राजीनामाबारे अन्तिम निर्णय कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले गर्नेछ, जुन शुक्रबारका लागि बोलाइएको छ। कांग्रेसभित्र अब नयाँ नेतृत्व र रणनीतिबारे तीव्र बहस सुरु हुने संकेत देखिएको छ।


पोडकास्ट सुन्नुहोस